असोज २६, काठमाडौँ। नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट नसाट्ने भएको छ।कोभिड–१९ संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट नसाट्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ।
राष्ट्र बैंकले दशैंमा नयाँ नोट साट्ने व्यवस्था गर्दा लामो लाइन बस्ने र भिड हुन गई संक्रमणको जोखिम झनै बढने भएकाले यसपटकको दशैं लक्षित नयाँ नोट नसाट्ने निर्णय भएको बताएको छ।
राष्ट्र बैंकले ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँ दरका नयाँ नोटहरु दशैंको बेलामा साट्ने गर्दै आएको थियो।यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भएपनि कोभिड संक्रमणको जोखिमका कारण नोट साट्न असम्भव भएको हो।
तर आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था भने रहेको राष्ट्र बैंकले बताएको छ। यस अघिका वर्षहरुमा दशैंमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै आएको थियो। जुन एक किसिमले प्रचलनको रुपमा पनि स्थापित भइसकेको छ।












