अनिता धिताल
विश्वका अरु देशले मिसाइल बनाए । चन्द्रमामा मान्छे पठाए । शुक्र ग्रहमा मानव जिवन हुनसक्ने देखियो । यस्ता विज्ञान र प्रविधिका समाचार सुनेर छक्कै पर्ने हामी नेपालीले हाम्रै युवाको प्रगतीलाई देखेकै छैनौ । नेपालका युवाहरुले पनि दिनप्रति दिन नयाँ नयाँ अनुसन्धान र निर्माण गरेका छन् । ललितपुरको झम्सीखेलमा २०७३ सालमा सुरु भएको पाइला टेक्नोलोजीले फड्को मारेको छ ।
कसरी जन्मियो पाइला टेक्नोलोजी
इन्जिनियरिङग पढेका ७ जना विद्यार्थीहरुको नेतृत्वमा पाइला टेक्नोलोजी जन्मिएको हो । अहिले २५ जना सदस्यहरु रहेका छन् । २०७३ सालमा पाइला टेक्नोलोजी कम्पनी दर्ता भयो । कम्पनीका सञ्चालक अरुण कवे भन्नुहुन्छ,‘ कम्पनी दर्तापछि अध्ययन अनुसन्धान गरि रोबोटको सुरुवात गरेका हौँ । व्यवसायिक तवरबाटै रोबोटिक्स् पाइला चाल्ने पहिलो संस्था हौँ ।’ उहाँहरुले वेटर र अतिथ्य सत्कारका लागी रोबोट डिजाइन गरे र बनाउनुभयो ।
यसपछि यिनै रोबोटले सेवा दिने गरी काठमाण्डौको दरबारमार्गमा पाइलाले नौलो रेष्टुरेन्ट सञ्चालन गर्यो । टिमले औधोगीक क्षेत्रमा पनि हात हालेपछि पाइलाको सम्पर्क एसबिआइ बैंकमा भयो । ‘हामी मौका खोजीरहेका थियौ । अनेक समस्या चुनौती र अप्ठयाराका बाबजुद पनि बैंकको प्रस्तावलाई स्वीकार गर्यौ अरुणले भन्नुभयो,‘पहिलो पटक एसबिआई बैंकका लागी परी नामक रोबोट तयार पार्यौ । त्यसपछि पुर्णरुपमा रोबोटिक्स् कम्पनीका रुपमा स्थापना भयौ ।
रोबोट निर्माण
इन्जिनियरिङग पढ्दा सिकेका ज्ञान र सिपको प्रयोग गर्दै युवाहरुले रोबोट निर्माण गरेका हुन् । एसबिआई बैंक दरबारमार्ग शाखाको रोबोट स्वागतका लागी बनाइएको हो । यस रोबोटले ग्राहकलाई स्वागत गर्नुका साथै बैंकमा हुने काममा समेत मद्दत पुयाएको अरुण बताउनुहुन्छ । अटोमेटिक चार्ज हुने यो रोबोट हिँडडुल पनि गर्ने गर्छ । २०७५ साल कार्तिकमा अमेरीकाको एक होटलका लागी दुई वेटर रोबोट पाइलाले पठाएको थियो ।
यसैगरी त्रिभुवन विमानस्थलमा भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटन परी नामका दुई वटा रोबोट राखिएको उहाँले बताउनुभयो । यिनले पर्यटकलाई नमस्कार भन्दै नेपालबारे जानकारी दिन्छन् । कम्पनीले अहिलेसम्म रेष्टुरेन्ट, अस्पताल देखि बैंकहरुमा रोेबोट मार्फत् ग्राकहरुलाई सेवा पुर्याइरहेको छ ।
कोरोना महामारीमा रोबोट
नेपालमा कोरोना भाइरसका संक्रमित र बिरामी थपिरहेका छन् । कोरोनाले अरु देशहरुमा पनि नर्स डाक्टरहरुलाई नै बढी प्रभावित पारेको छ । नेपालमा पनि बढी भुमिका स्वास्थ्यकर्मीहरुको हुन्छ । संक्रमितलाई राख्ने आइसोलेसन, उपचार गर्ने अस्पताल, चिकित्सक, स्याहारसुसार, औषधी खुवाउने स्वास्थ्यकर्मीको अभाव जस्ता समाचारहरु देख्दा हाम्रो समुहलाई रोबोट बनाउनुपर्छ भन्ने साेंच आएको अरुण बताउनुहुन्छ ।
‘नर्सहरुलाई सुरक्षा दिनुपर्छ, हाम्रो कर्तव्य पनि हो भनेर नर्सिङ रोबोट बन्यो, उहाँले भन्नुभयो,‘यही परीवेशलाई मध्यनजर गरेर रोबोटले सबै काम गर्न नसके पनि केहि हदसम्म गर्न सक्छौँ भन्ने धारणाले अगाडी बढेका छौँ ।’ अहिलेको अवस्थामा रोबोटको कारण संक्रमित भएको ठाउँमा नर्सहरु जानुपरेन ।
भक्तपुरको मध्यपुरथिमी नगरपालीकाद्धारा सञ्चालीत नेपाल कोरीया मैत्री नगरपालीका अस्पतालमा कोरोना सङक्रमितको उपचारका लागी तीन वटा नर्सिङ रोबोट छन् । नर्सिङ रोबोटको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले शुभारम्भ गर्नुभयो । यसले बिरामीलाई औषधी र खानेकुरा दिनेछ । यसको अटोमेटिक चार्ज हुने र बिरामीको अवस्था कस्तो छ ? भनेर बुझ्नको लागी भिडियो कल समेत रोबोटले नै गर्दछ ।
रोबोट बनाउन लाग्ने समय
रोबोट बनाउन भन्दा पनि अध्ययन अनुसन्धान गर्न धेरै समय लाग्ने अरुण बताउनुहुन्छ् । उहाँहरुले २०७६ फाल्गुनबाट नर्सिङ रोबोटको अनुसन्धान सुरु गर्नु भएको थियो । यति बेला नेपालमा कोभिड सामान्य भएपनि अन्य देशहरु महामारीबाट ग्रसित थिए । काम गर्दै जादा बैशाखको अन्त्य तिर निर्माण भएको हो । रोबोट निर्माण गरीसकेपछि विभिन्न प्रक्रियाहरु पुरा गदै स्वास्थ्य मन्त्रालयदेखी उधोग मन्त्रालयसम्मको स्वीकृती लिदा धेरै समय लागेको उहाँ बताउनुहुन्छ ।
बनाउन लाग्ने खर्च
रोबोट बनाउन निकै खर्च लाग्छ । सामानहरु पनि बाहिरबाट मगाउनु पर्ने र हवाई जहाजबाट ल्याउनुपर्ने भएकोले पैसा जुटाउन निकै कठिन पर्ने उहाँको गुनासो छ । साना साना सामानहरु महङगो पर्ने र सेन्सरहरु बाहिरबाट मगाउनुपर्ने भएकाले साढे ६ लाख रुपैयाँसम्म खर्च लाग्ने गरेको र ७ लाख २० हजारसम्ममा दिने गरेको उहाँको भनाई छ ।
रोबोट कति वटा बने, कहाँ कहाँ छन्
हाल सम्म १० देखि १२ वटा सम्म रोबोटहरु बनेका छन् । कोरोना महामारीको लागी भनेर ३ वटा बनाइएको छ । नौलो रेष्टुरेन्ट र एसबिआई बैकमा राखिएको छ । यसै गरी अमेरीकामा दुई वटा र त्रिभुवन विमानस्थलमा भ्रमण वर्षका लागी दुई वटा छन् ।
प्रतिक्रिया
टेक्नोलोजी बुझेको मान्छेले राम्रै प्रतिक्रिया दिन्छन् । प्रविधि भनेको मान्छेलाई सहज बनाउन गरीने विकास हो । अझ समाजलाई प्रविधि बुझाउन समय लाग्ने उहाँको अनुभव छ । अरुण भन्नुहुन्छ,‘ विकासमा प्रविधिले निकै ठुलो भुमिका खेल्छ । भएका मान्छेलाई दक्ष बनाएर प्रविधिका साथसाथै हिड्नुपर्ने हो, तर हाम्रोे समाजमा रोबोटले कामदारलाई बेरोजगारी बनाउँछ भन्ने बुझाइ छ, जुन गलत हो ।’
नेपालमा बेरोजगारीको संख्या धेरै छ । अहिलेको अवस्थामा पनि कोरोनासँग लडेर पनि काम गर्छु भन्ने पनि छन्, तर अहिलेको अवस्थामा पैसा भन्दा पनि स्वास्थ्य ठुलो हो । अमेरीकामा राखेको दुई वर्ष भयो कुनै नराम्रो प्रतिक्रिया आएको छैन । यसै गरी अन्य ठाउँबाट पनि राम्रो प्रतिक्रिया आएका छन् । अझै मागहरु बढ्दै गएका उहाँ बताउनुहुन्छ ।
सरकारसँग गुनासो
नेपालमा रोबोट बन्दा पनि सरकारले बेवास्ता गरेको सञ्चालक अरुण कवे भन्नुहुन्छ । कुनै पनि निकायबाट साथ र सहयोग प्राप्त नभएको उहाँको गुनासो छ । ‘कतिपय मानिसहरु अवसर नपाएकै कारण विदेश गइसके । हामीलाई पनि सरकारको हौसला र साथ मिलेन भने विदेशिनुपर्ने बाध्यता आउने उहाँको गुनासो छ ।
रोबोट बनाउन निकै खर्च लाग्छ । खर्च जुटाउन पनि निकै कठिन हुन्छ । आफुले नखाएर, मागेर थोरै थोरै रकम उठाएर काम गरिरहेका छौँ । यसकारण पनि धेरै बनाउन सकिरहेका छैनौँ । सरकारले केही प्रोत्साहन दिए हामीले अझै राम्रो गर्न सक्थ्यौँ ।’
अबको योजना
अहिलेको अवस्थामा कोरोना महामारीलाई नै मध्यनजर गरी टेक्नोलोजी पाइलाले के कसरी गर्न सकिन्छ भनेर अध्ययन अनुसन्धान गरिरहेको छ । मुख्य उद्देश्य अमेरीकामा बनेको रेड भेन्टीलेटर बनाउने हो । उताको इन्जिनियरहरुसँग पाइला कम्पनी मिलेर अध्ययन अनुसन्धान गरीरहनु भएको छ ।
अहिले सामान्य खालको अटोमेटीक भेन्टीलेटर बनाएर कोरोना अस्पतालमा राखिएको छ । यसले आफैँ अक्सिजन दिने र कति प्रतिशत दिने हो त्यहि अनुसार बनाइएको छ । अरु ठाउँबाट पनि माग आएकाले यो भेन्टीलेटर बनाउने प्रक्रियामा छन् ।









