लक्ष्मी चौलागाईं
असोज १०,काठमाडौँ । मौसम परिवर्तनको समय सुरु भएको छ । मौसम परिवर्तनको यो बेला धेरै मानिसहरुमा सिजनल फ्लूको समस्या देखिन सक्छ । कतिपयमा मौसम फ्लू देखिन थालेको पनि छ । कोरोना भाइरस र सिजनल फ्लूको लक्षण पनि सामान्य मिल्दो-जुल्दो भएकाले कोरोना पो लाग्यो कि भनेर मानिसमा त्रास बढेको छ ।
सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरसको संक्रमण पो हो कि भन्ने शंका र डर धेरैमा हुने गरेको छ । र मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल सङ्क्रमण हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु नपर्ने सरुवा रोग अस्पताल टेकुमा कार्यरत डाक्टर शेरबहादुर पुन बताउनुहुन्छ ।
सामान्य फ्लु र कोरोना भाइरस कसरी छुट्टाउने ?
हामीले अहिले सम्मको कोरोना भाइरसको लक्षण हेर्ने हो भने रुघाखोकीसंग मिल्दो जुल्दो नै छ । तर कोरोना भाइरस लाग्दा सुघ्ने र स्वाद थाहा पाउने क्षमता कमजोर हुन्छ । अन्य फ्लुको लक्षण सहित सुघ्ने र स्वाद थाहा नपाउने पनि भयो भने कोरोना भाइरस हुन सक्ने उहाँ बताउनुहुन्छ ।
सामान्यतया कोरोना भाइरस बच्चाहरुमा त्यति देखिदैन, यदि रुघाखोकी जस्तो लक्षणहरु देखियो भने त्यो कोरोना भन्दा पनि रुघाखोकी नै भन्न सकिने डा पुनले बताउनुभयो ।
मौसमी फ्लु र कोरोना फ्लु भन्दा कति घातक ?
रुघाखोकीको भाइरस त्यति कडा हुँदैन र फ्लु जुनमा चाहिं रुघाखोकीको जस्तै लक्षण हुन्छ । फ्लुमा पनि खासगरी वृद्दवृद्धा, दिर्घरोगी र बालबच्चाहरुलाई यदि फ्लु कडा भयो भने ज्यानै समेत जानसक्ने भएकाले सचेत हुनुपर्छ ।
नेपालको तथ्यांकमा हेर्ने हो भने कोरोना भाइरसले मुख्यगरी दिर्घरोगीहरुलाई र वृद्धाहरुलाई अलिक बढी च्यापेको देखिन्छ । उहाँ भन्नुहुन्छ,‘मौसमी फ्लु र कोरोनामा कुन चाहिं बढी खतरा भन्न चाहिं कुन वर्गमा र कस्ता मानिसलाई लागेको भन्ने कुरामा बढी निर्भर हुन्छ जस्तो मलाई लाग्छ । ’
शारिरीक परिश्रम गर्नेलाई कोरोनाले कम असर गर्ने भन्ने कुरा कतिको साँचो ?
डाक्टर पुन भन्नुहुन्छ,‘शारिरीक परिश्रम गर्नेलाई कम असर गर्ने भन्ने हुँदैन, मानिसको प्रतिरोधात्मक क्षमता कति छ त्यसमा भर पर्छ । यदि रोगसँग लड्ने शक्ति बढी छ भने कोरोनाबाट समस्या आउने सम्भावना कम आउँछ । र मान्छे हेर्दा मोटो घाटो खाइलाग्दो तर रोगप्रतिरोधात्मक क्षमता छैन भने चाहिं समस्या आउन सक्छ ।’
महिला र पुरुषको तुलना गर्दा,महिलामा भन्दा पुरुषमा बढी संक्रमण भएको देखिएको छ, के कारणले यस्तो हुन्छ ?
महिलाहरुमा चाहिं कम संक्रमण भएको देखिएको छ र अहिलेसम्म यही कारणले भनेर विस्तृत अध्ययन भएको छैन । सामान्यतया हामीले बुझ्दा केटा मान्छेहरु अलिकति बढी मात्रामा काम विशेषले घर बाहिर निस्की राख्नु पर्ने भएकाले बढी संक्रमित भएको हो की जस्तो देखिएको डाक्टर पुन बताउनुहुन्छ ।
अहिले सम्मको तथ्यांक हेर्दा पुरुष संक्रमितको तुलनामा मृत्यु दरमा पनि महिला संक्रमित कम देखिएको छ नि ?
महिला संक्रमित कम भएपछि मृत्यु दर कम नै हुने भयो । संक्रमितको संख्याको समानुपातिक रुपमा जति बढ्दै जान्छ त्यति नै मर्ने सम्भावना बढी हुन्छ । तर विदेशको पनि हेर्ने हो भने चाहिं पुरुषहरुलाई नै अलि बढी संक्रमण भएको छ र यसको बारेमा अनुसन्धान पनि जारी रहेको पुनले बताउनुभयो ।
कोरोना भाइरसको संक्रमण हुनबाट कसरी बच्ने ?
अहिलेसम्म कोरोनाको त्यस्तो औषधि छैन, यसबाट बच्न त्यस्तो खोप पनि छैन । यसकारण यसबाट हामीले बच्ने उपायहरु मात्र अपनाउने हो मास्क राम्रोसँग लगाउने, भिडभाड हुने ठाउँहरुमा नजाने, भौतिक दुरी कायम गर्ने, हात साबुन पानीले बेला बेलामा धुने, रोगप्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित खाना खाने आदि कुराहरुमा मुख्य ध्यान दिनुपर्ने डाक्टर पुनले सुझाव दिनुभएको छ ।
निषेधाज्ञा खुलेसंगै कोरोना संक्रमण पनि बढिरहेकाले सचेत र सजग रहन डाक्टर पुनले सबैमा आग्रह गर्नुभएको छ ।









