काठमाण्डौको ३ ख सहित प्रदेशभित्रका ६६ निर्वाचन क्षेत्र प्राथमिकतामा छ : मन्त्री रामेश्वर फुयाल

रमिता दंगाल

रामेश्वर फुयाल बाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्री बनेको ७ महिना बित्न लाग्यो । गएको फागुनमा मन्त्री बन्नुभएका फुयालले सुरुङ्ग मार्ग, विद्युतिय गाडी, ट्रलि बस सेवा सहित विभिन्न विकास निर्माणका काम गर्ने प्रतिवद्धता जनाउनुभयो । आम नागरिकको जनजिवनमा भने अहिले कोरोना महामारीले असर पुर्याएको छ । यो बेला प्रदेश सरकारले विकास निर्माण तथा भौतिक पूर्वाधारका क्षेत्रमा कसरी काम गरेको छ त भन्ने आम चासोको विषय छ ।

कागेश्वरी खबरका सहकर्मी रमिता दंगालले बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालसँग समसामयीक विषयमा कुराकानी गर्नुभएको छ ।

कोरोनाको महामारीले जनजिवन निक्कै प्रभावित भएको छ, कुराकानी सुरु गरौ, कोरोना रोकथाममा अहिलेसम्म के काम भए, के हुँदैछ ?

अहिले तीन तहका सरकार, आम नागरिक कोरोना विरुद्ध लड्नुपरेको छ । आर्थिक वर्ष २०७७÷७८ को बजेट ल्यायौं । यो बजेटमा कोभिडलाई परास्त गर्नको लागि कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको विषयलाई केन्द्रित गरेका छौँ । हाम्रो काममा सोहि अनुसार स्वास्थ्य क्षेत्रमा बागमती प्रदेश भित्र अस्पतालहरुको स्तरउन्नतीमा हामीले जोड दिरहेका छौँ । क्वारेन्टिनहरु निर्माण, आइसोलेसन लगायतका कामहरुमा हाम्रो काम केन्द्रित रहेको छ । भोक टार्ने कसरी यो गम्भीर बिषय हो ।

यस्तो अवस्थामा प्रदेश भित्र विकास निर्माण र पूर्वाधारको कामहरु कसरी अगाडी बढेका छन् ?

प्रदेश सरकारको भौतिक विकास मन्त्रीका रुपमा मैले गएको फागुनमा जिम्मेवारी सम्हालेको हुँ । कोरोना भाइरस नेपालमा देखिएको मात्रै थियो यसरी महामारीको रुप लिएको थिएन । अहिले पनि प्रदेश सरकारको मुख्य प्राथमिकता आम नागरिकको स्वास्थ्य सुरक्षा र सँगसँगै अब जनजिविका कसरी सहज बनाउन सकिन्छ भन्नेमै केन्द्रित छ । आश गरौ हामीले कोरोनालाई पक्कै जित्नेछौ र विकास निर्माण काम अगाडी बढ्नेछन् । अहिले भैरहेका कामले पनि निरन्तरता पाउनेछन् ।

मन्त्रीका रुपमा तपाईंले गरेका प्रतिवद्धताहरु र तिनको प्रगति अवस्था के छ ?

मैले प्रतिवद्धता गरे अनुसार नेपालमा सुरुङ्ग मार्ग बन्दैछ । तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा नेपालमा दक्षिण एसियाको पहिलो मानव निर्मित सुरुङ्ग बनेको थियो । त्यसबेलाको चुरिया सुरुङ्गबाट नेपालमा सुरुङ्ग युगमा प्रवेश भएको मान्न सकिन्छ । तर एक सय तीन वर्ष अगाडीदेखिको त्यो सुरुङ्ग बन्द छ । अरु मोटर चल्ने सुरुङ्ग छैनन् । मैले भन्दै आएको छु चाँदेले खनेर भएपनि सुरुङ्ग मार्ग बनाउँछु । मदन भण्डारी मार्ग अन्तर्गत खुलेखानी भीमफेदी क्षेत्रमा पोष्टबहादुर बोगटी सुरुङ्गमार्ग निर्माण पहिलो काम हो । अब बन्ने क्रममा छ ।

सुरुङ्ग मार्गसँगै अरु मुख्य प्राथमिकताका कामहरु के के छन् ?

नेपाललाई २०८५ साल सम्ममा हरित बाग्मती प्रदेश निर्माण गर्ने भनिएको छ । त्यसका लागि नविकरणीय उर्जाबाट, विद्युत उर्जाबाट चल्ने साधनले पेट्रोलियम पदार्थका साधनलाई प्रतिस्थापन गरेर वातावरण मैत्री यातायात प्रणालीको काम गर्छु भनेर प्रतिबद्दता व्यक्त गरेको छु । पहिलो काम कानुनद्वारा यातायात निगम व्यवस्थित गर्ने, विद्युतीय चार्जिङ्ग स्टेशनहरु निर्माण गर्ने त्यसका लागि हामीले सूचना जारी गरेका छौँ ।

साथसाथै विद्युतीय बस खरिद गर्ने यी तीनवटा कामलाई सँगसँगै लैजाने र राजस्व तिर्नका लागि चाहिँ डिजिटलाइज गर्ने, डिजिटलाइज गरेपछि मान्छेले घरमै बसेर राजस्व तिर्न सक्छन् । इम्बोस्ड नम्बर फेर्ने र त्यसलाई व्यवस्थापन गर्ने, यातायात क्षेत्रमा ठुलो सुधारको आवश्यकता छ । त्यो दोस्रो कामलाई केन्द्रित गरिएको छ ।

तपाईंले नेतृत्व गरेको मन्त्रालयको भौतिक प्रगति के छ ?

बाग्मती प्रदेशभित्र १३ वटा जिल्ला छन् । ती १३ वटै जिल्लामा भौतिक पूर्वाधारको क्षेत्रमा समयभित्र नै कार्यतालिकामा काम गर्ने हाम्रो योजना छ । लकडाउन र निषेधाज्ञाकै बिचमा पनि ६३ दशमलब ३६ प्रतिशत भौतिक प्रगति भयो । भौतिक पूर्वाधार मन्त्रालयको यो महत्वपुर्ण उपलब्धी हो । कोरोनाको असर कामयै छ । लकडाउन र निषेधाज्ञाका कारण काममा केहि ढिलासुस्ती भएपनि कामहरु अगाडी बढेका छन् ।

मन्त्री ज्यु, धमाधम काम अगाडी बढेको भन्नुभयो, पूर्वाधार अन्र्तगत मुख्य के भैरहेको छ ?

बाग्मती प्रदेशभित्रका १३ वटै जिल्लामा खानेपानीका काम सम्बन्धित कार्यालयबाट भैरहेका छन् । त्यसपछि निर्माणको काम भनेको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सडक पुलहरुका काम अगाडी बढिरहेका छन् । सिचाईं क्षेत्रका काम अगाडी बढिरहेका छन् र यो आर्थिक वर्षको बजेट कार्यान्वयनको पालिकामा हामी आज दोस्रो महिनामा छौँ, तर हाम्रो व्यवस्थित काम अगाडी बढिरहेका छन् । रोकिएको भनेको भिडभाड हुने भएकाले यातायात राजस्व लिनुपर्ने काम हो ।

काठमाण्डौ उपत्यका भित्र मुख्य कामहरु के के भइरहेका छन् ?

पुष्पलाल चक्रपथ बाग्मती प्रदेशका १३ जिल्लामा हुने गरी पुर्व, उत्तर, पश्चिम र दक्षिण हुने गरी सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ्ग, मकवानपुर, सिन्धुली नै भएर १० जिल्ला जोड्ने गरी पुष्पलाल प्रदेश चक्रपथ चार देखि पाँच खण्डबाट सुरु गर्दैछौँ र यसलाई टेन्डर पनि सुरु भैसकेको छ । काठमाण्डौ जिल्लाका तीन जिल्ला ३० निर्वाचन क्षेत्र जोड्ने गरी काठमाण्डौ उपत्यका काँठ चक्रपथ ६ वटा बिन्दुबाट काम प्रारम्भ हुनेछ ।

एउटा भक्तपुर खण्ड अर्को ललितपुर खण्ड र काठमाण्डौमा चार वटा खण्डहरु हुन्छन् । यसै गरी हामीले भौतिक पूर्वाधार विकास मन्त्रालयका काम चाहिँ एक घर एक धाराको कार्यक्रम छ । खानेपानीको बिस्तारमा जोड छ । सिंचाई र कृषि उत्पादनलाई केन्द्रित गरी १३ सय वर्ष अगाडी नै बाग्मती प्रदेशका विभिन्न ठाउँहरुमा राज कुलोहरु बनेका रहेछन् ।

अहिले प्रदेश सरकारले राज कुलो, ढुंगे धारा, नदि नियन्त्रण जस्ता कामलाई जोड दिएका छौ ।

प्राथमिकतामा सुरुङ मार्ग, ट्रलि बस सेवा पनि छन्, तर आम नागरिकको जनजिवन जोडिने सडकको अवस्था सुर्धान के हुँदैछ ?

मुख्यत कानुन बनेपछि हामीले प्रदेश सभाका सडकलाई व्यवस्थित गर्न धेरै हिसाबले सक्छौं । पहाडमा पानीको निकास हुन नसक्दा पहाड नै खस्ने गरेको छ । यसले सडकलाई पनि असर पारेको छ । र अब हामीले बनाएका सडकहरुमा पाँच फिट अग्ला फल फल्ने बिरुवाहरु, फुल फुल्ने बिरुवाहरु हुन्छन् र हामीले जहाँ सडक बनाउछौँ त्यहाँ हामीले सौन्दर्यकरणीलाई पनि ध्यान दिन्छौ ।

नयाँ सडक खण्ड २० प्रतिशत मात्रै जोड रहन्छ । अब धेरै भत्किएर बिग्रिसक्यो त्यो हुन नदिन ८० प्रतिशत हाम्रो लगानी र हाम्रो जोड चाहिँ सडक स्तरउन्नती हुनेछ ।

प्रदेश भित्र उपत्यका भन्दा बाहिरका जिल्लाहरुलाई त्यस्ता विशेष कुनै योजनाहरु छ कि छैन ?

पुष्पलाल प्रदेश चक्रपथ, रणनीतिक योजनाहरु मन्त्रालय मातहतबाट मात्रै १९ सय भन्दा बढी छन् । ति योजना जनताका हामी मुलत स्थानीय तहका मागलाई पनि सम्बोधन गरेका छौँ । केन्द्रको लगानीसँग हामीले दोहोरो पर्ने गरी नगर्न अधिकतम प्रयास गरेका छौँ । जनताको भावना अनुसार गरेका छौँ ।

समग्र प्रदेशको भन्नुपर्दा बाग्मती प्रदेश उज्यालो कार्यक्रम अन्र्ततग सबै बस्तिमा यो वर्ष विद्युतीय उर्जा पुर्याइसक्ने लक्ष्य छ । त्यसमा चाहिँ प्रदेश सरकार, केन्द्र सरकार र स्थानीय सरकारले सबै खालका नवीकरणीय उर्जा सहितको प्रयोगमा हामी जोड दिन्छौँ । बाग्मती प्रदेश उज्यालो कार्यक्रम, हरित बाग्मती प्रदेश कार्यक्रम, एक घर एक धारा कार्यक्रम, सिचाँइ, तारबन्दीका कार्यक्रमहरु बहुवर्षे टेन्डर गर्दैछौ ।

साथ साथै खरमुक्त छाना कार्यक्रम सुरु गरेका छौँ । अर्को २४ सय ४६ वटा घरहरु गरीबहरुका लागि बनाइसक्ने र ति मध्ये ३ सय ५५ वटा घर धुरीले चाहिँ आउँदो संविधान दिवसको दिनमा सिन्धुलीको दुधौली गाउँपालिकामा हामीले तीन सय ५५ घर मुसहरहरुको लागि उपलब्ध गराउँछौँ । त्यस्तै ३ गते हामीले प्रदेश सभा हल र सचिवालय हलको शिलन्यास गर्ने योजना बनाएका छौँ ।

तपाईंको निर्वाचन क्षेत्रमा चाहिँ के हुँदैछ ?

मन्त्रीका रुपमा आफ्नो निर्वाचन क्षेत्र भन्ने हुँदैन । तैपनी प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट काठमाण्डौ निर्वाचन क्षेत्र ३ ख मा १० लाख रुपैयाँ बजेट थियो । जनताले पनि रकम थप्नुभयो र कागेश्वरी धाम सिंढी निर्माणको काम सुरु भएको छ । त्यो ४ गते उद्धघाटन हुन्छ । त्यहि दिन १/१ रुपैयाँ दान मागेर कागेश्वरी मन्दिरसम्म सिंढी निर्माणको जन अभियान सुरु गर्छौं । त्यो चाहिँ जनताले जति दान गर्नुभयो सोहि अनुसारले बन्छ । २ हजार सिंढी निर्माण गर्ने हाम्रो योजना छ ।

सडकतर्फ ?

सडकतर्फ बागमती प्रदेश सरकारले कागेश्वरी चक्रपथ सडकमा ५ किलो मिटर सडक पिच भर्खरै सकिएको छ । अनि डाँछी देखि भद्रबाससम्मको पिच त्यहि कागेश्वरी चक्रपथ र इन्द्रायानीदेखि गागलसम्मको भाग ठाउँ ठाउँमा पुल र ढलानको काम पनि भैरहेको छ । पर्खाल लगाउने काम भैरहेको छ ।

त्यो बागमती प्रदेश पूर्वाधार विकास मन्त्रालयको योजनाबाट बनेको हो । साथ साथै ब्रमखेलबाट माथि गागलसम्म जाने लोकतान्त्रीक सहिद मार्गमा ५ किलोमिटर पिचको योजना मध्ये करिब ३ किलोमिटर जति पिचको काम सकिएको छ । ढलानको काम अहिले जारी छ ।

जताततै काम भएको छ भन्नुहुन्छ, धुलाम्मे र हिलाम्मे सडक पनि उस्तै देखिन्छन् ?

सडकको काम भैरहेकाले हिलाम्मे र धुलाम्मे देखिएको हो भनेर बुझ्नुपर्छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु मिलेर वरीपरीका सम्पूर्ण बाटा घाटाका कामहरु भैरहेको छ । जोरपाटीदेखि सुन्दरीजल सडकलाई केहि वर्ष अगाडी नै भएको टेण्डरको काम हो । यो टेण्डरको कामलाई सुव्यवस्थित गर्नको लागि प्रदेश केन्द्र सरकार र स्थानीय सरकार मिलेर काम गरिरहेका छौँ ।

चाबहिलदेखि थली हुँदै, डाँछी हुँदै साँखुसम्मको सडक हामी तीन वटै सरकारको मिलेर जनसमुदायलाई बुझाएर विकास निर्माणको कामहरु अगाडी बढाइरहेका छौ । जताततै विकास निर्माणको कामहरु मात्रै छन् र त्यो विकास निर्माणको काम बर्खामा भएको हुनाले हिलो पनि छ, तर आउँदो वर्ष पूर्वी क्षेत्रमूल सडकहरुमा हिलो देख्न खोजेर पनि पाइदैन ।

तपाईंले १५ सय किलोको काग राख्ने भनेर चर्चा गरेसँगै काम सुरु भयो । कहिले सकिन्छ ?

यही आउँदो काग तिहारको दिन लोकतान्त्रिक सहिद उद्दानमा काग राख्नेछौँ । र काग कसरी बनेको छ भनेर सोध्नुहुन्छ भने २०७२ सालमा ५ लाख रुपैँया काग निर्माणको लागि भनेर छुट्टाइयो । कागेश्वरी धाममा एउटा स्तम्भ बनेको छ र कलात्मक काग राखिएको छ । चिहान डाँडामा पनि अर्को एउटा स्तम्भ बनेको छ र यो दुइटा स्तम्भ बनाउन जम्मा ५ लाख रुपैँया खर्च भएको छ ।

त्यसपछि जनतासँग घर दैलोमा गएर कवाड संकलन गरेर २० किलोमिटर यात्रा गर्यौं । त्यो घर दैलो यात्रामा फलाम सहित विभिन्न सामग्री गरी २ हजार किलो आसपासमा जम्मा भयो । तर वास्तविक धातु चाहिं ८÷९ सय किलो मात्र प्राप्त भयो । यो वर्ष रकम थपेर विश्वको ठुलो काग बन्दैछ । स्थानीयबासिको सद्भाब छ, सायद विश्वकै ठुलो कागको मुर्ति बन्छ होला ।

विकास निर्माणका काममा कोरोनाको प्रभाव के छ ?

म बाग्मती प्रदेशको हेटौडामा छु । मन्त्रीका रुपमा ६६ निर्वाचन क्षेत्रमा ध्यान दिनुपर्छ । बिदाको दिनमा समेत ७ बजेदेखि १ बजेसम्म काममा व्यस्त हुन्छु । कोरोनाकै बिच सुरक्षाका उपाय अपनाएर काम भएका छन् । आज पनि भीमफेदीदेखि कुलेखानीसम्म २ सय जनाले काम गरिरहेको तपाईं पाउनुहुनेछ । कोरोनासँगै जोगिएर जनमुखी बिकासका कामको व्यवस्थापन गरिरहेका छौँ ।

यो वर्ष विनियोजित भएको रकम समयमा नै काम सकियोस् भनेर मुख्यमन्त्री र मन्त्रीको बिचमा कार्यसम्पादन करार भएको छ र मन्त्री र सचिवको बीचमा कार्य सम्पादन करार भएको छ, सचिव र विभागीय प्रमुखहरुको बिचमा कार्य सम्पादन करार भएको छ ।

पूर्वाधार निर्माणमा प्रदेश सरकार र पालिकाको समन्वय के छ ?

प्रदेश सरकार लोकतान्त्रीक प्रणालीको छ । सहकार्य र सहअस्तित्वमा काम गर्ने संबैधानिक विधीलाइ मानेका छौ । तीन तहका सरकार बीच समन्वय हुन्छ, सहकार्य हुन्छ । सबै ठाउँलाई सम्मान र बराबरी रुपमा हेर्ने संस्कृतिको विकास गर्नु पर्दछ र कार्यपालिकाहरुले पनि यसरी नै काम गर्नु पर्दछ ।

नागरिकले टिकाटिप्पणी पनि गरेको सुनिन्छ, गुनासो पनि आउँछ । अन्त्यमा के भन्नुहुन्छ ?

जनताका असिमित चाहानाहरु हुन्छन् । निरन्तर काम गर्दै जाँदा पुरा गर्न सकिन्छ । मैले यो कुरा गाउँ विकास समितिको अध्ययन गर्दा अनुभव गरेको छु । काम हुँदा हँुदै पनि नागरिकहरुले अझै भएन भन्दा अझ जिम्मेवारी र उत्साह थपिएको जस्तो लाग्छ । धेरैले रातको निन्द्रामा सपना देख्छन्, म भने दिउँसो पनि सपना देख्छु र त्यो सपना पुरा पनि गर्छु । अब नेपाल सुशासनको युगमा प्रवेश गरेको छ । त्यसैले सकारात्मक सोंच राखौ विकास निर्माणमा नेपाली मौलिकता र नेपाली नागरिकको कसिलो एकता सम्भब छ ।

[sidebar name="button post"]