युवाका दुःखका भारी : दश वर्ष वैदेशिक रोजगारी : कोरोनाले व्यवसाय ठप्प

अनिता धिताल

काठमाडौँ । कोरोनाले असर नगरेको पेशा, व्यवसाय सायदै नहोला । आम नागरिक देखि नेतृत्वकर्ता, व्यापारी, डाक्टर सबैलाई कोरोना भाइरसको महामारीले सताएको छ । यो बेला सबैको चिन्ता, संक्रमणबाट कसरी जोगिने मुख्य रहेको छ ।

एकतिर कोरोना संक्रमणको डर, अर्कोतिर गुजारा चलाउनुपर्ने बाध्यताका बिच अन्यौलता र अनिश्चितताले थिचेको छ । लकडाउन र निषेधाज्ञाका बेला धेरैको व्यवसाय बन्द भयो । सिन्धुपाल्चोक, पाचँपोखरी थाङ्पालधाप गाउँपालिका वडा नं ६ का अनिलकुमार धितालले पनि यो महामारीको मारमा परेको गुनासो गर्नुहुन्छ ।

कोरोना महामारीका बेला उहाँको ‘सेवा क्याफे तथा बार’ ठप्प छ ।यसभन्दा अगाडी उहाँले वैदेशिक रोजगारीमा दश वर्ष बिताइ सक्नु भएको थियो ।

वैदेशिक रोजगारीको अनुभव

झण्डै १० वर्ष विदेशमा बित्यो । नेपाल छोड्नुपर्ने बाध्यता थियो । किनभने नेपालमा केहि गर्छु भन्ने सोंचले विभिन्न सघंसस्थामा काम गरे । तर यहाँकै कमाई र कामबाट चित्त बुझेन । अनि २०६८ सालमा विदेश लागे । सुरु सुरुमा सोंचे जस्तो काम समेत पाइएन । तर पछि सुपर भाइजर सम्मको पोष्ट पाएको थिए ।

जसले गर्दा आम्दानी पनि राम्रै भएको थियो । करिब १० वर्ष सम्म वैदेशिक रोजगारमा पसिना बगाएर काम गरेको थिए । विदेशमा पनि होटलमै काम गरेको हुनाले सिप र ज्ञान थियो । अब नेपालमै गएर केहि गर्छु भन्ने सोंच आयो । २०७४ सालमा छुट्टीमा नेपाल आउदा सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वरोजगार फर्म खुलाको रहेछ र मैले पनि फर्म भरेको थिए ।

जसमा नेपालमै व्यवसाय सञ्चालन गर्नको लागि सरकारले १० लाख रुपँैया अनुदान दिएको थियो र मैले पनि पाए । आफु बस्दै आएको ठाउँमा पनि राम्रो रेष्टुरेन्ट नभएकाले आफुलाई यो व्यवसाय राम्रो हुने देखेर लगानी गर्ने आँट पलायो । करिब १० वर्ष विदेश बसेर कमाएको पैसा र सरकारबाट पाएको अनुदानबाट नै व्यवसाय सञ्चालन गर्ने निर्णय गरे ।

देशमै आफ्रनै व्यवसाय

विदेशबाट आएर केहि समयपछि गोकर्णेश्वर नगरपालिका वडा नं ७ स्थित माकलबारी गेटमा २०७६ साल जेष्ठ २ गतेबाट सेवा क्याफे एण्ड रेष्टुरेन्ट (बार) सुरु गरेको थिए । यस व्यवसायको लागि करिब २२ लाख रुपैयाँ खर्च लागेको थियो । परिवारमा हामी चार जना छौ ।

क्याफेमा आवश्यक ५ जना कर्मचारीहरु राखेको थिए । व्यवसाय सञ्चालन गरेको करिब ९ महिना राम्रो व्यापार भएको थियो, तर लकडाउनको कारण व्यवसाय ठप्प भएको छ ।

कोरोना महामारीले परेको असर

पर्यटन, व्यापार व्यवसाय ठप्प छन् । कयौंको रोजगार गुमेको छ । चैत्र ११ गते सरकारले लकडाउन घोषणा गर्यो । तर क्याफेहरुलाई (बार) भने चैत्र ८ गतेबाटै नै बन्द गर्न लगाएको थियो । फेरि केहि समय लकडाउन खुकुलो हुँदा व्यापार राम्रै भएको थियो । तर फेरी निषेधाज्ञा भयो ।

लकडाउन र निषेधाज्ञाले आम्दानी ठप्पै भयो । नजिक घर भएका कर्मचारीहरुलाई महामारी नियन्त्रण भएपछि मात्र आउन र टाढा घर भएकाहरुलाई जान सम्भव नभएकोले तलब दिन नसके पनि रासन र कोठा भाडा तिरेर राख्नुपर्यो । आफ्नो पनि घरव्यवहार चलाउन गाह्रो परेको अवस्थामा होटलको भाडा तिर्नुपर्दा ऋण माथि ऋण थपिएको छ ।

हामी व्यापारमा मजदुरी गर्नेहरु मुस्कीलले बाँचेका छौ । धेरै कठिन परेको छ ।

सरकारले दुःख देख्ला ?

सरकारले विदेशमा रहेका नेपाली कामदारलाई अप्ठारोमा परे फर्कन भनेको छ । कतिपयको उद्धार गरको छ । तर सरकारले के बुझ्नुपर्याे भने हामी जस्तो नयाँ व्यवसायीहरुले अरु सँग सरसापटी तथा ऋण गरेर व्यवसाय सुरु गरेका हुन्छौ । अहिलेको अवस्थामा सरकारले केहि सहयोग नगरेमा नयाँ व्यवसायी हतोत्साही हुने छन् । यस्तो अवस्थामा नयाँ व्यापारीले व्यवसाय नै गर्दैनन् ।

नयाँ मानिसहरुलाई व्यवसाय प्रति नराम्रो प्रभाव पर्दछ, सरकारले यसका लागि राम्रो वातावरण मिलाउनु पर्दछ । हाम्रा दुःख सरकारले देख्ला ? हामीले सरकार बाट अनुदान स्वरुप पाएको १० लाखको केहि प्रतिशत ब्याज मात्र सहुलियत गर्दिए पनि धेरै राहात मिल्ने अपेक्षा छ । सरकारले हाम्रो गुनासो सुन्ला र खै ? सुन्यो भने राहत हुन्थ्यो ।

[sidebar name="button post"]