समिता श्रेष्ठ
काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ४ बस्ने धुर्व नापित विपद् ब्यवस्थापन समितीको सदस्य र पेशाले चालक हुनुहुन्छ । सामाजिक काममा खटिनेक्रममा उहाँलाई कोरोना भयो । तर अहिले उहाँ कोरोनालाई जितेर घर फर्कनुभएको छ । उहाँको कोरोना अनुभव र भोगाईबारे कागेश्वरी खबरका सहकर्मी समिता श्रेष्ठले कुराकानी गर्नुभएको छ ।
कोरोना संक्रमित भएको कसरी थाहा पाउनुभयो ?
कोरोना एउटा भाइरस हो । यो कहाँ, कसलाई र कसरी लाग्छ भन्ने कुरा थाहा नै हुँदैन । म गोकर्णेश्वर नगरपालिका विपत्त ब्यवस्थापन समिती वडा नम्बर ४ को सदस्य भएकाले कोरोना संक्रमितको घर मै गएर सेवा दिने काम निरन्तर गर्दै आएको थिए । त्यस्तै म एउटा चालक पनि हो ।
लकडाउन खुल्ला भएपछि १५ दिनसम्म गाडी पनि चलाएको थिए त्यहाँबाट पनि भाइरस सरेको हुन सक्छ । त्यसैगरि हाम्रो टिमलाई पशुपतिमा कोरोनाबाट ज्यान गुमाउनेको लास ब्यवस्थापन कसरी गरिन्छ भनेर तालिम दिएको थियो । त्यहाँबाट पनि हुन सक्छ । अनेकौं सामाजिक कार्यहरूमा लागेका थियौं । त्यसैले कहाँबाट कसरी लाग्यो भन्ने थाहा नै भएन । पछि चेक गर्दा मात्रै कोरोना पोजेटिभ भएको थाहा भयो ।
कोरोना पोजेटिभ देखिनु भन्दा पहिले लक्षण के के थिए ?
कोरोना पुष्टि हुनुभन्दा पहिले हल्का ज्वरो आयो, स्वासप्रस्वासमा समस्या पनि भयो, घाँटी दुख्ने र थकान महशुस भएको थियो । त्यसपछि पीसीआर परिक्षण गरेको हुँ । परिक्षण गरेको ४ दिनपछि रिपोर्ट आएको थियो । रिपोर्ट आएपछि स्वास्थ मन्त्रालयबाट पोजेटिभ आएको म्यासेजद्वारा जानकारी भयो । गोकर्णेश्वर नगरपालिकाका कोरोना हेर्ने डाक्टर हरिप्रसाद उपाध्यायसँग संयोजन गरि म आफै आफ्नो गाडी लिएर अस्पताल गएको थिए । कोरोना भैहाले अरुले गर्ने व्यवहारको डर बढी थियो । हुन पनि त्यस्तै भयो ।
तपाई कोरोना पोजेटिभ देखिएपछि के के भयो ?
कोरोना पोजेटिभ देखिएपछि समाजले मर्दा पर्दा नी नचाहिने जस्तो व्यवहार गर्यो । त्यतिमात्र होइन संगै एउटै थालमा खाएर हिँड्ने साथीहरूले पनि देखेर पनि न देखेको जस्तै, चिनेर पनि नचिनेको जस्तो व्यवहार गरेका छन् । बाल्दैमा र हेदैमा कोरोना सर्ने त होइन ।
कोरोना पोजेटिभ हुनुभन्दा पहिले र अहिलेको अनुभव के छ ?
पहिला आफुलाई कोरोना भाइरस लाग्दैन भन्ने थियो । आफुमा भएको रोग प्रतिरोधी पावरले गर्दा आफुलाई कोरोना लाग्दैन भन्ने लागेको थियो । अहिले यो रोग जो कोहिलाई पनि लाग्न सक्छ भन्ने अनुभव गरेको छु ।
हजुरलाई कोरोना देखिए पछि परिवार वा अरुमा पनि कोरोना देखियो ?
मलाई कोरोना भयो । त्यसपछि मेरो परिवारमा संगै बस्नुहुने तीन जनामा नै कोरोना देखियो । गोकर्णेश्वरको नेपाल मेडिकल कलेजमा १४ दिन बसे ।
आइसोलेसनमा कसरी दिनहरु बिताउनु भयो ?
आइसोलेसनमा म र अरु ७ जना हुनुहुन्थ्यो । हामी सबै मिलेर पालैपालो चिया, बेसार पानी बनाउने गर्थ्यौ । आफु बसेको ठाउँ पनि दिनक्कै सफा गर्थ्यौ । दिनकै नुहाउँथ्यौ र लुगा दिनकै फेर्थ्यौ । त्यस्तै दैनिकी शारीरिक ब्यायाम गर्दै बित्यो ।
कोरोनाविरुद्ध लड्न अस्पतालले के के गरायो ?
कोरोना विरुद्ध लड्न अस्पतालले हौसला र आत्मबल बढाउने काम गर्यो । केही हुँदैन आत्मविश्वासी बन्नुस् भन्नेर हामिलाई हौसला दिनुभयो । अनि हाम्रो रोग प्रतिरोधी क्षमता बढाउन भिटामिन सि क्याप्सुल दिनुहुन्थ्यो । जोरो दिनको चार पटक नाप्नु हुन्थ्यो र जोरो बढि भए सिटामोल दिनुहुन्थ्यो ।
कोरोनालाई जित्न के के गर्ने, तपाईंको बिचारमा ?
कोरोनासंग लड्न र जित्न आत्मबल र आत्मविश्वास बढी आवश्यक छ । कोरोना केहि होइन भनेर हेलचेक्राइ पनि गर्नुहुँदैन । तातोपानी खाने, आफ्नो स्वास्थको ख्याल गर्ने, आफै सुरक्षित हुनुपर्छ ।
तपाई नगरपालिका भित्र त्यो पनि विपद् ब्यवस्थापन समितीको सदस्य, र नगरपालिकाले के सुविधा दियो ?
म एउटा विपत्त ब्यवस्थापन समितिको सदस्य नै हो । र मलाई कोरोना भाइरस संक्रमण देखिएपछि विपत्त ब्यवस्थापन समिती र नगरपालिकाबाटै आइसोलेसन र सम्पुर्ण ब्यवस्था गरिदिनु भएको हो र मेरो परिवारलाई पनि ।
कोरोना प्रोजेटिभ देखिएर निको भएका ब्यक्तिको रगतले अन्य कोरोना बाट ग्रसित ब्यक्ती को उपचार गर्नु मिल्छ (पाज्मा थेरापी) यो बारे हजुर कति अवगत हुनुहुन्छ ?
यस बारे थाहा भाको चै कोरोना निको भएको ब्यक्तिको एक प्रिन्ट रगतले तीन जना कोरोना संक्रमित बिरामिलाई बचाउन सकिन्छ । निको भएको ब्यक्तीको रगतमा कोरोना संग लड्न सक्ने क्षमता हुन्छ । हाम्रो रगत भ्याकसिन जस्तो हुन्छ । यो कुरा डाक्टर बाटै थाहा भाको हो ।
तपाईको रगतले अरु कोरोना सङ्कमित लाई बचाउनु सक्नु हुदो रहेछ नि
हजुर म र म जस्तै कोरोन लाई जित्नु हुनेहरु को एक प्रिन्ट रगतले अन्य गम्भीर कोरोना सङकमित बिरामी लाई पाज्मा थेरापी द्वारा बचाउन सकिन्छ । अब कोरोना बाट गम्भीर भएका बिरामिको लागि म र मेरो परिवार नै रक्तदान गर्ने छौ ।
अन्त्यमा के भन्नुहुन्छ ?
हजुर, यो रोग लाग्ने बित्तिकै हाम्रै वरपरको समाजले हेला र घृण गर्छ । सामाजिक बहिष्कार गर्छ । यसैले यस्तो दुब्र्यहार गर्ने लाई कडा भन्दा कडा सजाय र कारबाही होस् । अस्पतालमा हाम्रो लागि निस्वार्थ भावले सेवा गर्नु हुनेहरुलाई पनि अहिले सामाजिक बहिष्कार गरेको समाचार सुन्नु आईरहेको छ ।
हाम्रो लागि आफ्नो ज्यानको बाजि लगाएर सेवा गर्नु हुनेहरु प्रहरी जवानहरु एवं अस्पताल कर्मचारीहरु हाम्रो भगवान नै हुनुहुन्छ । उहाँहरुलाई नराम्रो ब्यवहार गर्ने लाई कडा सजाय को ब्यवस्था गरियोस् । मुख्य गरी आफ्नो स्वास्थको ख्याल आफै राखौं । आत्मबल बल्यो बनाउँँ र तातो पानी खाउँ ।









