नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार दुई सय ९० पुगेको छ ।
अब नेपालमा १८ हजार एक सय आठ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आज काठमाण्डौ उपत्यकामा तीन सय ५० जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो । यसैविच सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ ।
कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो ।









