समिता श्रेष्ठ
भदौ १५ , सामान्यतः यो जिन्दगी चलिरहेकै थियो । गएको माघसम्म यो कुनै भोगाई थिएन । यसअघि भोग्दै नभोगेको कोरोना भाइरस अहिले यै जिन्दगीमा एकैपटक लाग्दैछ रोग बनेर आएको छ । कोरोना नामको भाइरस, त्यसपछिको लकडाउन, निषेधाज्ञा र त्यसैले निम्ताउँदैछ अर्को रोग डिप्रेशन ।
मानिस सामाजिक प्राणीलाई नै सामाजीक दुरी कायम गर्ने दिन आएका छन् । सामाजिक दुरीलाई भौतिक या व्यक्तिगत दुरीका रुपमा सजगता अपनाउन आवश्यक छ । आज विश्वव्यापी कोरोना कहर चलिरहेको छ । महिनौं बितिसकेको छ र यसैगरी वर्ष पुग्न आँटिसकेको छ । तर यो रोगको अझै औषधि नै बनेको छैन । मनमा कोरोनाको डर, त्रास र भय उत्पन्न गराएको छ । यसैले अब डिप्रेशन रोग बढाउँदैछ ।
नेपाल सहित विभिन्न देशमा लकडाउन, निषेधाज्ञा या यस्तै अरु उपाय अपनाएर संक्रमण घटाउन खोजिएको छ । यसैकारण धेरै मानविय क्रियाकलाप रोकिएका छन् । रोजगारी गुमेको छ । समाजमा संक्रमित भनेर भेद सुरु भएको छ । युवावर्ग घरभित्रै थुनिएको छ । यसले डिप्रेशन बढेको छ ।
एकान्तबासमा बस्नुपरेको छ । आफू सुरक्षित हुनु र समाजलाई पनि सुरक्षित राख्नु एक मात्र उपायको रुपमा लकडाउन भयो । चीनबाट सुरु भएको कोभिड १९ भाइरस विश्वब्यापी हुँदा समेत अहिलेसम्म यसलाई रोक्ने अन्य कुनै उपाय पत्ता लागेको छैन । भाइरस संक्रमणसँगै बाहिर नदेखिने रोग डिप्रेशन पनि बढेको बढ्यै छ ।
डिप्रेशन एउटा यस्तो रोग हो जुन बाहिरी रुपमा देखिदैन तर भित्र भित्रै शरिर खाने काम गर्छ । यसले मान्छेलाई शारीरिक रुपमा मात्रै होईन मानसिक रुपमा कमजोर बनाउने गर्दछ । डिप्रेसनको सिकार जो कोहि हुन सक्दछ । तर सामान्यतया डिप्रेसनको सिकार पिर, चिन्ता र एक्लोपनले बनाउने गर्दछ । ‘खाली दिमाग शैतानको घर’ अहिले काम छैन काम नभए दाम र मामको समस्या बढ्दै गएको छ । पिर चिन्ता र आत्मग्लानी तथा अनेकौं समस्याहरु दिनानुदिन बढ्दै गएको कारण डिप्रेशनको शिकार बढ्दै गएको छ ।
नेपालमा कोरोना संक्रमित बढ्दैछन् । अनि समस्या भयावह बन्दैछ । पहिले लगभग चार महिना लकडाउन गरेर साउनमा खुल्ला गरिएको थियो । तर झन् कोरोनाको संक्रमण बढेपछि फेरि निषेधाज्ञा गरिएको छ । कोरोनाबाट संक्रमित ४० हजार पुग्न लागे । ज्यान गुमाउनेको संख्या दुई सय २५ हराहारी छ । तर नेपालका धेरै नागरिक हुनेखाने भन्दा हुँदा खाने रहेका छन् ।
दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने सर्वसाधारणलाई रोगले भन्दा भोक, शोक र डरत्रासले मार्ने चिन्ता बढ्दो छ । त्यसैकारण निषेधाज्ञा या लकडाउन जे भनिएपनि यसको विकल्प खोज्नुपर्छ । घर बाहिर निक्ले रोगको डर छ अनि घरभित्र बस्दा भोकले मार्ने अवस्था छ । यसै कारण डिप्रेशनको सिकार हुनु पुग्नेको संख्या पनि बढ्दो छ ।
सरकारले कोरोना संक्रमितको संख्या र ज्यान गुमाउनेको संख्या गन्नुभन्दा अरु रोग र डिप्रेशनको जोखिमतर्फ पनि ध्यान दिनुपर्छ ।












