कबिता चापागाई
भदौ १४ काठमाडाैँ- निषेधाज्ञा छ । लकडाउन छ । कोरोना संक्रमण जोखिमपछि समस्या नै त्यहि छ । संक्रमण जोखिमबाट बच्न र बचाउन सरकार र आम नागरिकको पहल जारी नै छ ।
तैपनि दिनहुँ संक्रमित बढिरहेका छन् । जताततै असर पुर्याएकै छ । व्यापार व्यवसाय ठप्प छ । जनजिवन अस्तब्यस्त बनेको छ । बिहान बेलुकाको छाक टार्न धौ धौ हुन थालेको छ । अत्यावश्यक सेवामा निषेधाज्ञा र लकडाउनको असर कमै परेको छ । खानेपानी ढुवानी र वितरण अत्यावश्यक सेवामा पर्छ । तैपनी खानेपानी वितरण गर्नेहरु समेत मारमा परेको बताउँछन् ।
काठमाण्डौको जोरपाटी दक्षिणढोकामा खानेपानी सप्लार्यस कम्पनीका सञ्चालकहरुसँगको कुराकानी :
बसन्त दंगाल, जोरपाटी काठमाडौ ।
‘जय होस्’ खानेपानी सप्लार्यस नाम हो । ट्याङकर नम्बर बा ३ ख ३९५४ हो । करिब ६ वर्षदेखि खानेपानी वितरण गर्दै आएको छु । हामीले बोरिङको पानीलाई व्यवस्थित ढङगले फिल्टर गरेर बिक्रि वितरण गर्दै आएका छौ । कोरोना महामारी हुनु भन्दा पहिला उपत्यका भरि पानी वितरण गरिन्थ्यो ।
एकदिनमा करिब ६ वटा घरमा पानी पु¥याईन्थ्यो तर अहिले भाडामा बस्ने मान्छे नभएको र घरबेटीलाई धाराबाट आएको पानी नै प्रयाप्त हुने भएकोले वितरण निकै कम भएको छ । यस क्षेत्रमा पहिला निकै नाफा भएतापनि अहिले महामारीले गर्दा नोक्सान बेहोर्नु परेको छ ।
महामारीको समयमा सेनिटाईजर, माक्स र पञ्जाको प्रयोग गरी गाडीमा दुई जना बसेर सामाजिक दुरी कायम गर्दै सुरक्षित भएर पानी ढुवानी गरिरहेका छौ । घरधनिहरुले पनि हामीले भने अनुसार नै टाढा बसेर वा घरको बरण्डा, झ्यालबाट पैसा खसालेर हामीलाई पठाउनु हुन्छ ।

खेम मगर, दक्षिणढोका काठमाडौ ।
झण्डै १५ वर्ष भयो पानी वितरणको काम गर्दै आएको । नम्बर बा ३ ख ९१७ नम्बरको गाडी छ । अघिल्ला वर्षहरुमा दैनिक करिब ८ ट्याङकर खानेपानी वितरण गर्दै आएका थियौ तर अहिले कोभिड १९ का कारण दिनमा दुई, तिन टया्ङकर मात्र वितरण हुन्छ ।
कम्पनिमा पानी वितरण गर्नका लागी ६ जना कर्मचारीहरु रहेकोमा अहिले २ जना मात्र कर्मचारी कार्यरत छन् । यस महामारीमा पनि सामाजिक दुरी कायम गदै, सेनिटाईजर, माक्स र पञ्जा को प्रयोग गरेर सुरक्षित तरीकाले नागरिकको माग अनुसार पानी वितरण भइरहेको छ । तर अहिले महामारीले गर्दा व्यवसायमा ठुलो असर पुर्याइरहेको छ ।

राजेन्द्र महर्जन, दक्षिणढोका काठमाडौ ।
‘जय श्रीराम’ खानेपानी सप्लार्यस हो । पानीको काम थालेको ६ वर्ष भयो । लकडाउन हुनुअगाडी दिनमा करिब ८ टया्ङकर पानी वितरण गर्थे तर अहिले १, २ टया्ङकर पु¥याउँछु । त्यहि पनि कहीलेकाही त दिनभरि सुतेर बस्नुपर्ने अवस्था छ ।
अहिले विश्व नै कोरोना महामारीले गुज्रिरहेको अवस्थामा डर त लाग्छ नै तर पनि उपभोतmाको माग अनुसार पानी वितरण भईरहेको छ । यस महामारीको समयमा सामाजिक दुरी कायम गरी आफु एक्लै गएर पानी वितरण गर्नै भएकोेले खासै जोखिम छैन । पानी वितरण गर्दे आएको गाडी नम्बर बा ४ ख ८६ रहेको छ ।

हरि थापा, दक्षिणढोका काठमाडौ ।
सुन्दरीजल खानेपानी सप्लार्यसको नाममा पानी वितरण हुन्छ । ६ वर्ष भयो यही काम गरेको छु । पहिला दैनिक १० टया्ङकर जति पानी वितरण हुन्थ्यो । तर अहिले भने महामारीको कारण २ टया्ङकर, त्यो पनि कहिलेकाहीँ मात्र हुने गर्दछ । आफ्नो व्यवसाय यहि भएकाले घर व्यवहार चलाउन पनि गाह्रो परिरहेको छ ।
यस क्षेत्रमा लाग्दा नाफा नै भइरहेको थियो तर महामारीका कारण ठुलो असर परेको छ । अहिलेको अवस्था जोखिमपुर्ण छ । तर सरकारले भनेजस्तै दुरी कायम गर्ने, पञ्जा र मास्क लगाउने हो । ३ जना कर्मचारी छन् । पानी वितरण गर्न बा ५ ख ५५४१ र बा ५ ख ५०३८ नम्बरका दुई वटा गाडी छन् ।













