Ad #144479

कबिता चापागाई

९ भदौ, कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । संक्रमणसँगै नागरिकलाई त्रास पनि थपिएको छ । सरकारले गएको चैत ११ गतेदेखि झण्डै ४ महिना लकडाउन गर्यो ।

अनि एक महिना खोलेर फेरी निषेधाज्ञा गरेको छ । लकडाउन र निषेधाज्ञाका कारण नागरिक घरभित्रै बस्न बाध्य भएका छन् । उकुसमुकुस भएको छ । व्यापार व्यवसाय, शैक्षिक संस्था सबै ठप्प भएका छन् ।

अब चाहिँ कोरोनासँग खुलेरै सामना गर्ने या भोकभोकै घरभित्र बस्ने भन्ने सवाल सुरु हुन थालेको छ । कागेश्वरी खबरले केहि नागरिकसँग अब कसो गर्नुपर्ला भनेर राखेको प्रश्नमा आएका जवाफ जस्ताको तस्तै ।

शिवराम सापकोटा, गोकर्णेश्वर नगरपालिका माकलबारी

कोरोना भाइरसको डरले घरभित्रै थुनिएको ६ महिना भैसक्यो । घर व्यवहार चलाउन अब त अति नै गाह्रो पो हुन थाल्यो । बौद्धमा रहेको स्टेशनरी पसलको भाडा मात्र तिर्नुपरेको छ । छैन भन्नलाई पसल छ, आफूलाई आम्दानी हुने बाटो बन्द छ, उल्टै भाडा पो तिरिराख्नु परेको छ ।

राज्यले निषेधाज्ञा गर्ने घोषणा गरेपनि व्यवस्थित तरीकाबाट गरेको जस्तो मलाई लाग्दैन । किनकी एक ठाउँमा मात्र निषेधाज्ञा गरेर भाइरस नियन्त्रण हुँदैन हरेक क्षेत्रमा एउटै हुनुपर्छ अनि मात्र केहि हदसम्म नियन्त्रण हुन सक्छ । लकडाउन सुरु गरेपछि थप्दा थप्दै ४ महिना पुग्यो । निषेधाज्ञा पनि थप्ने भनेर सुनेको छु ।

यस्तै अवस्था रहिरहने हो भने रोगले भन्दापनि भोकले मर्ने अवस्था देशमा आईसकेको छ ।

शिवराम सापकोटा, गोकर्णेश्वर नगरपालिका माकलबारी
शिवराम सापकोटा, गोकर्णेश्वर नगरपालिका माकलबारी

रविना खनाल, कपन

कोरोनाले सबै कुरा डामाडोल बनायो । अबका दिनहरु कसरी बित्ला जस्तो लाग्न थालेको छ । विद्यालयहरु खोल्ने अवस्था छैन । आफु शिक्षण पेशामा लागेको हुँदा ५ महिना भइसक्यो घरभित्रै थुनिएका बालबच्चाको पढाई पनि बिग्रीसक्यो । घरमा पढ भन्दा पनि मान्दैनन् । पढ्न आफुलाई पनि दवाव दिन मन लाग्न छोडिसक्यो ।

अब बाँचिएला जस्तो लाग्दैन । कोरोना भाइरस नियन्त्रण होला भन्दा झन् दिनप्रतिदिन बढ्दैछ । अहिले सरकारले जारी गरेको निषेधाज्ञा चैत अगाडी नै कडा गरेर, सिमा व्यवस्थित गरेको भए यो अवस्था आउने थिएन । काठमाण्डौमा पनि अझ कडा गर्ने र चेकअप बढाएको भए यति धेरै फैलिन सक्दैन थियो होला ।

रविना खनाल, कपन
रविना खनाल, कपन

नवराज धिताल, विशालनगर चण्डोल

कोरोना भाइरस सुरु हुनुभन्दा केहि दिन अघि मात्र कतारबाट देश आएको थिए । त्यसपछि यो महामारी सुरु भयो । अब कहिले खोल्ने हो थाहा छैन । विदेशको जागिर पनि सुरक्षित छैन । नेपालमा पनि भनेजस्तो जागिर पाइदैन । आफ्नै देशमा राम्रो जागिर पाए विदेशिने मन मलाई पनि थिएन ।

हाम्रो देशमा यस्तो महामारी हुँदा त नेताहरुलाई आफ्नो कुर्सि प्यारो भएको छ । यहि कारणले गर्दा हामी जस्तो युवा विदेशिनु परेको हो । अहिले आफ्नो घर परिवारसँगै बस्न पाउदा पनि मनमा शान्ति छैन । कतै विदेशको जागिर जान्छ कि भन्ने पिरले रातदिन निद्रा लाग्दैन ।

नवराज धिताल, विशालनगर चण्डोल
नवराज धिताल, विशालनगर चण्डोल

मोहन सापकोटा, चाबहिल

यो कोरोना भाईरसले गर्दा वाक्कै लागिसक्न थाल्यो । पढाई सक्काएर अब जागिर खान ठिक हुँदा कोरोना भाईरसले गर्दा घरमा सुतेर बस्नु परेको छ । महामारी कम हँुदै जाला भन्दा बढिरहेको छ ।

घरमा बस्दा अनेक कुराहरु दिमागमा खेल्छन् । भविष्य सम्झिदा डर र चिन्ता लाग्छ । यसरी बसेर कहिलेसम्म खान पुग्छ जस्तो लागिरहेको छ ।

राज्यलाई निषेधाज्ञा खोल्न दवाव दिदा कोरोना भाईरसको डर नखोल्दा घरमा बसेर अरु नै रोग र भोकले लैजाला भन्ने डर भइसकेको छ । जे भएपनि हामीले देशको परिस्थितिलाई हेरेर जारी निषेधाज्ञालाई सकारात्मक सोंचबाट पालना गर्नुपर्ने देखिन्छ ।

मोहन सापकोटा, चाबहिल
मोहन सापकोटा, चाबहिल

केशवनाथ चाँपागाई, कपन

म उमेरले ७५ वर्ष पुगे । अहिलेसम्म यस्तो काल अनुभव नै थिएन । यसरी बाहिर नै निस्किन नहुने रोग आएको देख्दा अचम्म लाग्छ । आफुलाई घरमा बस्न मन मान्दैन बाहिर डुल्न अहिले पाइदैन ।

उमेर गएपनि हिँड्डुल गर्न मन साह्रै मन लाग्छ । यो उमेरमा आएर कस्तो भाइरस सुन्नुपर्याे । यसो मेसो मिलाएर बाहिर निस्कन खोज्यो की, घरका सबै जना बाहिर निस्किदा कराउँछन् । हुन पनिहो समाचार सुन्दा धेरै मरिसके अझै थपिदैछन् भनेर आईरहेको हुन्छ ।

पहिला एक महिना जति होला यसरी घरभित्रै बस्नुपर्ने जस्तो लाग्थ्यो अहिले त कोरोना भाइरसले नै मासिएला जस्तो लाग्छ । आफ्नो त बुढेसकाल लागिसक्यो तर छोराछोरी, नातिनातिनाको अब के होला भन्ने चिन्ता लागिरहेको छ ।

जेष्ठ नागरिक र दिर्घरोगीलाई अझ बढि जोखिम हुन्छ भनेर भन्छन् । कहिले औषधी बन्ने हो, कहिले नेपालमा आइपुग्ने हो । सरकारले कति गर्न सक्ला र खै ?

केशवनाथ चाँपागाई, कपन
केशवनाथ चाँपागाई, कपन

अम्बिका धिताल, गोकर्णेश्वर

पहिला पहिला भन्दा त आजकल डर अलि हराउँदै गयो । अब त जे भएनी होस् भन्ने लागिसक्यो । कोरोनाले गर्दा न चाडर्पव मनाउन पाएका छौ न कतै जान पाइन्छ । यसरी कतिदिन बस्नु जस्तो लाग्छ, तर आफ्लाई मात्रै हेरेर भएन आफ्नो भन्दा पनि परिवारको डर लाग्छ ।

एउटाबाट अर्कोमा सर्ने रैछ । यो कोरोनाले हामीलाई मात्र होइन संसारका मान्छेलाई रुवाएको छ । असर गरेको छ । धनी गरिव सबैलाई लाग्ने रोग रैछ । औषधी छैन भन्छन् । घरबाहिर नहिड्ने, साबुनपानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजर पनि पाइन्छ रे साबुनपानी नहुँदा हातमा दल्न ।

अब यसै गरी सुरक्षित बस्नुपर्छ । सरकारले पनि हामीलाई सुरक्षित गर्नको लागि निषेधाज्ञा जारी गरेको हो । यो बेलामा सबैलाई घर चलाउन गाह्रो भइरहेको छ तर पनि हामी रोगसँग लड्नु भन्दा केहि समय भोकसँग लड्नु ठिक होला जस्तो लाग्छ मेरो विचार है ।

अम्बिका धिताल, गोकर्णेश्वर
अम्बिका धिताल, गोकर्णेश्वर