आज ऋषिपञ्चमी : जान्नुहोस् व्रत र महिमा

हरितालिका पर्व भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । भाद्र शुक्ल द्धितियाका दिन दर खाने दिन, तृतीयामा तीज, चतुर्थीमा गणेश पूजा र पञ्चमीमा ऋषिपञ्चमी मनाउने गरिन्छ । आज ऋषिपञ्चमी व्रत गरिन्छ । ऋषि पञ्चमीको धार्मिक एवं साँस्कृतिक दुवै महिमा रहिआएको पाइन्छ ।

ऋषिपञ्चमीको पौराणिक मान्यता

पौराणिक मान्यता अनुसार स्वर्गका राजा इन्द्रले विश्वरुपलाई हत्या गरेको कारण ब्रह्म हत्याको जघन्य आरोपमा पापको भागी भए । सामान्य नागरिक सरह यस हत्याको पापबाट इन्द्रले मोक्ष पाउन ब्रह्माको आराधना गरे । इन्द्रको ब्रह्महत्या दोष निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्र स्वयंलाई भोग्न लगाई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई ब्रह्मदोषबाट मुक्ति दिलाएका थिए ।

ब्रह्मदोषको कारण उब्जनी नहुने जग्गा अर्थात् मरुभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको छ । रजस्वलाको दोष निवारणार्थ सात ऋषिको पूजा गर्ने परम्परा रहेको पंडित रबिन्द्र आचार्यले बताउनु भयो ।

भाद्र शुक्ल पञ्चमीको दिन महिलाहरुले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया, पोखरी वा धारामा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, कमेरो माटो र खरानी लगाई स्नान गर्दछन् । अरुन्धतीसहित सप्तर्षिको विधिवत पूजा गरिसकेर नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो भोजन खाएर बस्नुपर्ने व्रतविधि शास्त्रमा उल्लेख गरिएको छ ।

को हुन् सप्तर्षि ?

ऋषिलाई ‘ऋषयो मन्त्रद्रष्टार, भन्ने उपमा दिइएको छ । सप्तर्षि सात लोकका प्रतीक पनि हुन् । शारीरिक शुद्धि गराउने पर्व पञ्चमी हो । सप्तऋषिलाई ब्रह्माका मानसपुत्र मानिएको छ । सप्तऋषिको नामका विषयमा विद्वानहरुका मतमा समरुपता पाइँदैन । सात ऋषि अर्थात् ऋषि कुलको विषयमा वेदमा वशिष्ठ, विश्वामित्र, कण्व, भारद्वाज, अत्रि, वामदेव र शौनकको नाम उल्लेख गरिएको छ ।

एकमतले कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिलाई सप्तर्षि मानेको छ भने अर्को मतले कश्यप, वशिष्ठ, मरीचि, अंगिरस, पुलस्त्य, पुलह र क्रतु सात ऋषिका नाम भएको बताएको छ ।

सामान्यतः हिन्दु नेपाली समाजमा अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रलाई सप्तर्षि मानेर पूजा गर्ने परम्परा रहेको छ । ऋषिपञ्चमीको व्रत मुख्यतः नारीले गर्ने गर्दछन् । ऋषिपञ्चमीको व्रतकथाले स्त्रीलाई व्रतको अधिकारी देखाएपनि त्यो स्नानसम्म मात्र हो ।

व्रतविधि

भाद्रपद महिनाको शुक्लपक्षको पञ्चमीका दिन ऋषिपञ्चमीको व्रत सम्पादन गरिन्छ । प्रथमत सबै वर्ण र व्यक्तिका निमित्त यो व्रत प्रतिपादित थियो, तर हिजोआज अधिकांश नारीहरूले मात्र यस व्रतलाई लिने प्रचलन छ । व्रत लिन सुरू गरेपछि कम्तीमा सात वर्षसम्म लिनु अनिवार्य छ ।

सप्तर्षिको पूजाका क्रममा सातवटा कलशमा छ्ट्टाछुट्टै सातजना ऋषिको सुन वा चाँदीको प्रतिमा राखी प्रतिष्ठा गरिन्छ र अरुन्धतीलाई भने वशिष्ठसँगै स्थापना गरिन्छ । सातै जना ब्राह्मणहरूद्वारा कार्य सम्पादन हुन्छ ।

अन्त्यमा निमन्त्रित ब्राह्मणहरूमध्ये मुख्य आचार्यलाई वशिष्ठ र अरुन्धतीको कलश, प्रतिमा, वस्त्रालङ्कार र दक्षिणा एवं अन्य ब्राह्मणहरूलाई बाँकी कलश, प्रतिमा, वस्त्रालङ्कार र दक्षिणा समेत राखी छुट्टाछुट्टै सिधा प्रदान गर्नुपर्दछ ।

यदि एउटा मात्र कलशको स्थापना गरी सम्पूर्ण ऋषिको प्रतिमा राखिएको छ भने त्यो कलश मुख्य आचार्यलाई र अन्य ब्राह्मणलाई वस्त्रालङ्कार दान गर्नु पर्दछ ।

तर यो वर्ष आज मनाउन लागिएको ऋषिपञ्चमी कोरोना महामारीका कारण आफ्नै घरमा सिमित रहेर मनाउन र पूजा एवं व्रत गर्न नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले आग्रह गर्नुभएको छ ।

[sidebar name="button post"]