कृष्ण वाग्ले र कबिता चापागाई
भदौ २ । झट्ट हेर्दा वर्खाको हरियाली । हरियै दुवो पलाएर राम्रै देखिन्छ मुलपानी मैदान । तर यो मैदान काम थालेको ७ वर्षमा पनि पुरा हुन सकेको छैन । सरकार भन्छ खेलकुद क्षेत्रमा पनि ध्यान पुगेको छ । तर मुलपानीको क्रिकेट मैदान खेलकुदको विकास र मैदान निर्माण तथा व्यवस्थापनमा सरकारको ध्यान नपुगेको एउटा गतिलो उदाहरण बनेको छ ।
गाईबस्तु चराउन मिल्ने
मुलपानी क्रिकेट स्टेडियम अर्थात् मैदानको काम सकिएको भए अनि अहिलेको कोरोना संक्रमण नदेखिएको भए यतिबेला राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट खेल हुन्थे । खेलाडीलाई भ्याइनभ्याई हुन्थ्यो । चहल पहल हुन्थ्यो । वरपर व्यापार व्यवसाय बढ्थ्यो । तर अझै यो अवस्था आइसकेको छैन । स्टेडियम अर्थात् मैदानको प्याराफिट, पर्खाल अनि ग्राउन्ड नै निर्माण सम्पन्न भैसकेका छैनन् । खेलकुद गतिविधि हुनुपर्ने मैदानमा अहिले गाईबस्तु चराउन मिल्छ । यो दुराअवस्थाबाटै सोध्न सकिन्छ, सरकारको ध्यान कहाँ छ ?

काम अलपत्र किन ?
काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मुलपानीमा रहेको यो क्रिकेट मैदान खेलकुद विकास परिषद्को मुख्य लापरर्वाहीले अगाडी बढ्न नसकेको सरोकारवालाले बताउँदै आएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो मातहतमा काम गर्दै आएको तर अझै पुरा भैनसकेको वडा ६ का अध्यक्ष प्रकाश फुँयालले बताउनुभयो ।

मुलपानी स्टेडियम एसियाली क्रिकेट परिषद् एसीसीले ३ करोड र सरकारले ४ करोड गरी ७ करोड लगानीमा सुरु गरिएको हो । झण्डै तीन सय रोपनीमा काम सुरु गरिएको भएपनि सकिएको छैन । बालुवा ओसारपसारमा विवाद, पर्खाल तार जालि लगाउनेबारेको विवाद, बाटो जोड्ने विवादले ढिलासुस्ती भैरहेको हो ।
यो मैदानलाई नजिकबाट नियालेका स्थानीय बद्रीप्रसाद धितालका अनुसार अन्तराष्ट्रिय मैदान भनिएपनि त्यसै अनुसारको काम नै हुन सकेको छैन । उहाँका अनुसार काम अधुरो रहेकाले स्थानीयका लागि यो मैदान समय बिताउने र गाईबस्तु चराउने थलो बनेको हो । धितालले भन्नुभयो,‘स्थानीयबासीको जग्गा पनि परेको थियो, जग्गा सट्टापट्टा पनि भैसकेको थियो तर केहि स्थानीय र सुकुम्बासीहरुले टहरा बनाएर बसोबास गर्दै आएका छन् ।’
टहरा नहटाउँदा र जग्गामा आइरहेको झैझमेलाले मुलपानी क्रिकेट मैदान निर्माणमा ढिलासुस्ती भएको स्थानीयबासिन्दाको भनाई छ । मैदानलाई पुरा गर्न केहि विवाद समाधान गर्नुपर्ने देखिएको र पालिकाबाट पहल भैरहेको वडाअध्यक्ष फुँयाल बताउनुहुन्छ ।

निर्माण कार्य सुरु भएर पनि अझै धेरै काम गर्न बाँकी नै रहेको छ’ वडाध्यक्ष फुँयालले कागेश्वरी खबरसँग भन्नुभयो,‘खेलकुदका जिम्मेवार निकायसम्म पनि यो जानकारी गराएका छौ, छिट्टै विवादको निकास निस्कने र काम अगाडी बढ्ने विश्वास छ ।’
फोटो बिष्णु धिताल
















