नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको ज्यान गएसँगै काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको हो ।
श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या एक सय पुग्दा ७८ जना पुरुष र २२ जना महिला रहेका छन् ।
नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा भेटिएको थियो । दोस्रो संक्रमित १० चैतमा भेटिएसँगै लकडाउन भयो । वैशाखमा भारतबाट फर्किने नेपालीहरु बढेसँगै संक्रमण तीव्र गतिमा बढ्यो ।
कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ३ जेठमा पुष्टि भएको थियो । बाह्रबिसे, सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केसीको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
अहिलेसम्म प्रदेश नम्बर १ मा नाै जना, प्रदेश नम्बर २ मा ४३ जना र वाग्मती प्रदेशमा १८ जनाको कोरोनाबाट ज्यान गएको छ । यस्तै गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
साँझ धनुषामा मृत्यु भएका एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या १०० नाघेको छ ।









