Ad #144479

२९साउन,काठमाडौं। कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न नेपाल प्रेस युनियनले माग गरेको छ । नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युको सम्पूर्ण छानविन गर्न माग गरिएको हो ।

बुधबार शोक विज्ञप्ति जारी गर्दै युनियनका महासचिव अजयबाबु शिवाकोटीले मृत्यु सँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको छ । “अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेका बानियाँको मृत्यु दुर्घटना, आत्महत्या वा हत्याका कारण भएको हो यकिन भएको छैन, यसबारे प्रहरीले गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ”, महासचिव शिवाकोटीले भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिवसमेत रहनुभएका बानियाँको मृत्युको खबरले प्रेस युनियन मर्माहत भएको विज्ञप्ति बताइएको छ । दुःखद् घडीमा पत्रकार बानियाँप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा युनियनले समवेदना प्रकट गरेको छ ।