थप ७ जना कोरोना संक्रमितको ज्यान गयाे

साउन २८, देशका विभिन्न अस्पतालमा थप ७ कोरोना संक्रमितको ज्यान गएको छ । ललितपुरमा तीन,कपिलवस्तुका दुई र माेरङ र सप्तरीमा एक एक जना गरि ७ जनाको ज्यान गएको हो ।

गएराती ललितपुरको पाटन अस्पताल, किस्ट अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक–एक जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षकी महिलाको ज्यान गएको हो । गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राती ज्यान गएको हो ।

यस्तै मेडिसीटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षका पुरुषको राती ज्यान गएको छ । साउन ५ गते भर्ना भएका उहाँमा निमोनिया, श्वासप्रश्वास लगायतका समस्या थियो । यस्तै किस्ट अस्पतालमा ज्यान गुमाएका व्यक्तिको बारेमा भने विवरण संकलनको काम भैरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर गेलालले बताउनुभयो ।

यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलबस्तु २ तौलिहवाका ४२ वर्षका र कपिलबस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राती ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो । ज्यान गुमाएका ४२ वर्षका पुरुषमा कोरोना पुष्टि भएपनि २५ वर्षका पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ ।

यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षका पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षका वृद्धको ज्यान गएको छ । कोरोनाको लक्षण देखिएपनि एक हप्तादेखि घरमै बसेका उहाँको राती गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो । उहाँको ज्यान गएपछि मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।

[sidebar name="button post"]