सुन र चाँदीकै भाउमा नयाँ रेकर्ड

साउन २३, काठमाण्डौ – सुन र चाँदीको भाउले शुक्रबार रेकर्ड बनाएको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको तथा ठूला देशबीच द्वन्द्व बढ्दै गएकाले सुनको भाउ लगातार उकालो लागेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ ।

चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ । यसअघि २०६८ साल वैशाख १६ गते चाँदीको भाउ अहिलेसम्मकै महँगो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।