हरेक विषयमा न्यूनतम ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा १२ को परीक्षा फारम भर्न पाउने

कक्षा ११ मा हरेक विषयमा न्यूनतम ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा १२ को परीक्षा फारम भर्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार पारित गरेको कार्यविधिमा विद्यालयले कक्षा ११ को मूल्यांकन गर्ने र न्यूनतम डी प्लस ल्याएकाले मात्र कक्षा १२ को फारम भर्न पाउने उल्लेख छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिएर विद्यार्थीको मूल्यांकन गर्ने गरी कार्यविधि पारित भएको बताए । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार विद्यार्थीलाई आफ्नो नतिजामा चित्त नबुझेमा उनीहरूले रिटोटलिङ, रिचेकिङ गर्न पाउनेछन् ।
विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा परीक्षा मूल्यांकन समिति रहने र विद्यालयको परीक्षा मूल्यांकन समितिले आवश्यक देखेमा ग्रेड वृद्धि परीक्षासमेत लिन पाउने व्यवस्था छ । रिटोटलिङ तथा ग्रेड वृद्धि सबैको नतिजा कक्षा १२ को परीक्षा फारम भर्नुभन्दा पहिले नै बोर्डमा पठाउनुपर्ने व्यवस्था छ ।
कोभिड–१९ का कारण असामान्य परिस्थिति भएपछि यसअघि तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा ११ र १२ मा करिब नौ लाख ६४ हजारले परीक्षा फारम भरेका थिए । कक्षा ११ मा पाँच लाख ३२ हजारभन्दा बढीले परीक्षा आवेदन भरेका छन् । कक्षा १२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् । कक्षा १२ मा अनुकूल समयमा परीक्षा लिने तयारी छ भने ११ को परीक्षा सधैँ विद्यायलबाटै हुने भनि मूल्यांकनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मा दिएको छ ।
बोर्डले कार्यविधि निर्माणको काम सुरु गरेको थियो । कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका कारण यसअघि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ)को विद्यालयले आन्तरिक मूल्यांकन गर्ने र जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइबाट प्रमाणीकरण भएर राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गर्ने निर्णयअनुसार काम भइरहेको छ ।
अहिलेसम्म कक्षा ११ र १२ को संयुक्त रूपमा एक हजार पूर्णांकको ग्रेडसिट पाउँदै आएका थिए ।
यो वर्ष पाँच सय पूर्णांकको पाउनेछन् । नयाँ पाठ्यक्रम कार्यान्वयन भएपछि ६ सय पूर्णांकको ग्रेडसिट हुनेछ । सरकारले ०७७ देखि कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको छ ।
[sidebar name="button post"]