एजेन्सी । लकडाउन खुकुलो बनाएको इटली सरकारले अब ३ जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको हो ।
यसका साथै १५ जुनदेखि सिनेमा घरहरु तथा २५ मेदेखि स्विमिङ पुल र स्पोर्टस सेन्टर पनि खोलिने छ । यस्तै ४ मेदेखि उद्योगहरु खोल्ने अनुमति दिइएको छ ।
इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सम्भावित खतराको आँकलन गरेरै यी निर्णयहरु लिइएको बताएका छन् । कोरोना संक्रमणबाट नराम्रोसँग प्रभावित इटालीलाई आर्थिक संकटबाट उकास्ने दृष्टिले यी निर्णयहरु लिइएको उनले बताए ।
यात्रा प्रतिबन्ध हटे पनि युरोपियन युनियनका देशहरुबाट इटाली आउने नागरिकहरुले अनिवार्य दुई हप्ता क्वारेन्टाइनमा राखिने प्रधानमन्त्री कोन्टेको भनाई छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इटालीमा कोरोना संक्रमणबाट ३१ हजार ७ सय ६३ जनाको ज्यान गइसकेको छ । २ लाख २४ हजार ७ सय ६० जना संक्रमित छन् । इटाली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशहरुको सूचीमा पर्दछ ।
कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले इटालीले फेब्रुअरी महिनामा लकडाउन घोषणा गरेको थियो । लकडाउन गर्ने इटली युरोपको पहिलो देश हो ।