३० फाल्गुन, काठमाण्डौ। कोरोना भाइरसको संक्रमण घट्दै गइरहेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार ४१८ जनामा कोरोना परीक्षण गर्दा ५८ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या चार हजार ८१९ जना रहेको छ । पछिल्लो समय १४८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ६१ हजार २१८ पुगेको छ ।
निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमणबाट कसैको पनि निधन भएको छैन ।
मन्त्रालयका अनुसार २०० भन्दाबढी संक्रमित भएका जिल्लामा ललितपुर, काठमाण्डौ, चितवन, कास्की, बाँके र रुपन्देही रहेका छन् । शून्य संक्रमित भएको दुई मात्र जिल्ला मनाङ र जुम्ला रहेको छ ।
नेपालमा संक्रमण दर १७.८ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा चार हजार ८१९, संस्थागत आइसोलेसनमा ९८, आइसियुमा ३५ र भेन्टिलेटरमा छ जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा आज ९२ हजार ४८ जनाले खोप लगाएका छन् ।











