२२ फाल्गुन, काठमाण्डौ। मदन भण्डारी मेमोरियल कलेजले वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । आगामी फागुन २८ गते साधारण सभा आयोजना गर्न लागिएको कलेज व्यवस्थापन समितिका सदस्य सचिव एवं क्याम्पस प्रमुख डम्बर बहादुर हमालले बताए ।
कलेज सञ्चालन विधान (तेस्रो संशोधन २०७६ सहित) अनुसार छनौट भएका व्यक्तिहरु साधारण सभामा सहभागी हुने हमालले बताए । साधारणसभामा कलेजको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पेश हुनेछ भने लेखा परीक्षक नियुक्ति पनि साधारण सभाले गर्नेछ ।
त्यसैगरी, कलेजको संशोधित विधान तथा नियमावलीहरु अनुमोदन गर्ने, बजेट तथा रणनीतिक कार्ययोजना अनुमोदन गर्ने, कलेज व्यवस्थापन समिति चयन गर्ने लगायतको प्रस्ताव साधारण सभाको लागि तय भएको हमालले जानकारी दिए ।
कलेजको सभाहलमा साधारण सभा आयोजना गर्न लागिएको कलेज प्रशासनले बताएको छ । साधारण सभाको तयारीका कामहरू धमाधम भइरहेको क्याम्पस प्रमुख हमालले जानकारी दिए ।
२०५८ सालमा सामुदायिक शैक्षिक संस्थाको रूपमा उक्त कलेज स्थापना भएको थियो । अहिले मदन भण्डारी मेमोरियल कलेजमा कक्षा ११ र १२ तह देखि स्नातकोत्तर सम्मको शैक्षिक कार्यक्रम सञ्चालित छन् ।
कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकाय अन्तर्गतका विषयहरू अध्यापन भइरहेका छन् । त्यसैगरी, स्नातक तहमा एप्लाइ कोर्ष अन्तर्गत ब्याचलर्स इन विजनेश म्यानेजमेन्ट (बीबीएम), ब्याचलर्स इन कम्युटर एप्लिकेशन (बीसीए) र सूचना प्रविधिसँग सम्बन्धित बीएससीसिएसआईटी लगायतका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
त्यसैगरी, स्नातक तहमा मानविकी र व्यवस्थापन संकायका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको क्याम्पस प्रमुख हमालले बताए । स्नातकोत्तर तहमा पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र र अंग्रेजी विषयमा उक्त कलेजले अध्यापन गराइ रहेको छ ।
सबै तहमा गरेर करीब १५ सय जना विद्यार्थी अध्ययनरत रहेको हमालले जानकारी दिए । कलेजले आशिंक र पूर्णकालिन गरेर करीब डेढ सय शिक्षक र २५ जना कर्मचारीलाई रोजगारी दिएको उनले बताए ।
कलेजले सुलभ शुल्कमा प्रयोगात्मकरूपमा अध्ययन अध्यापन गराइरहेको कारण विद्यार्थीहरूको आकर्षणको केन्द्र बनिरहेको हमालको दावी छ । मदन भण्डारी मेमोरियल कलेज नयाँबानेश्वर, विनायकनगरमा अवस्थित छ ।









