यसवर्ष शालिनदी मेला प्रभावित, माधवनारायण व्रतकाे नित्य पूजा मात्रै गरिने

२८ पौष, काठमाण्डौ। परापूर्वदेखि सञ्चालन हुँदै आईरहेको श्री माधवनारायण व्रत नित्य पूजा मात्रै गरिने भएको छ । यस वर्ष कोरोनाको कारण साँखु शालिनदीको माधवनारायण मेला प्रभावित भएको छ ।

कोभिड–१९ को ओमिक्रोनको प्रकोपलाई ध्यानमा राखेर परापुर्वदेखि संचालन हुँदै आइरहेको माधवनारायण व्रत नित्य पुजा आजा एवं धार्मिक विधि पुर्याएर सीमित व्रतालु मात्र राख्ने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष कोभिड-१९ को ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गईरहेको अवस्थालाई मध्यनजर राखेर भक्तजन र व्रतालुहरुबीच कम्तीमा २ मीटरको दूरी कायम हुने गरी बार बन्देज गरिनेछ ।

त्यस्तै सम्पूर्ण व्रतालुहरुसँग पूर्ण खोप लगाइएको कार्डको कपी लिईने र निमोनिया भए नभएको एकिन गर्न एक्सरे लिने समेत व्यवस्था गरिएको उहाँले बताउनु भयो । आवश्यक भए एण्टीजेन परीक्षणको व्यवस्था समेत समिति आफैंले गर्नेसमेत उहाँले जानकारी दिनुभयो ।

शान्ति सुरक्षा सम्बन्धी व्यवस्थापनमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सीसी टिभी क्यामेराको व्यवस्था मिलाउने प्रबन्ध गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखु अन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताउनु भयो ।