सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

२५ पौष, काठमाण्डौ। सरकारले कोरोना भाइरसको संक्रमण बढेसँगै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ।

कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्रको (सिसिएमसी) बैठकले आइतबार सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थिति थियो । बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक स्थानमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ ।

बैठकले जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।