११ पौष, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेपछि नेपाल प्रहरीको आकस्मिक बैठकले काठमाडौंको सुरक्षा व्यवस्थालाई कडा बनाउने निर्णय गरेको छ । महाधिवेशनमा सबै राजनीतिक दलका नेताहरु शुभकामनाका लागि आउने भएपछि सुरक्षा थ्रेट पनि बढेको भन्दै सुरक्षा व्यवस्थालाई कडा पार्ने निर्णय भएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बसेको काठमाण्डौ सुरक्षा समितिको बैठकले काठमाण्डौ उपत्याकाकै सुरक्षा व्यवस्थामा चुनौति महशुस गरी व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गर्ने भएको हो । शुरुमा काठमाण्डौ परिसरका एसपी दिनेश मैनालीको संयोजकत्वमा सुरक्षाकर्मी परिचालन गर्ने भनिएपनि अहिले काठमाडौं परिसरका एसएसपी सुदीप गिरी आफै फिल्डमा खटिने भएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि थप मद्दती सुरक्षाकर्मी पठाउने भएको छ ।
‘अहिलेलाई काठमाण्डौको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्नु पहिलो दायित्व हो, सत्तामा रहेको दल र मुलुकको प्रमुख दल मध्येको एउटा दल माओवादी भएकाले त्यहाँको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्नु र सुरक्षाकर्मीहरुको परिचालन पनि त्यही ढंगले गर्नु अहिलेको आवश्यकता हो’, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआईजी हरि पालले भने ।
उनका अनुसार डीआईजी उत्तम सुवेदीले नै सबै विषयको अनुगमन गर्नेछन् । आजको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सबै राष्ट्रिय पार्टीका नेताहरु सहभागी हुने भएपछि सुरक्षाकर्मीहरुलाई हाइ अलर्टमा राखिएको छ । नेपाली कांग्रेसको महाधिवेशनमा एआईजी हरि पाल आफैले अनुगमन गरेका थिए । त्यस्तै एमालेको महाधिवेशनमा एआईजी सहकुल थापा खटिएका थिए । दुवै महाधिवेशनमा अप्रिय घटना नभईकन शान्तिपूर्ण ढंगले सम्पन्न गरिएको र सुरक्षा व्यवस्था चुस्त दुरुस्त राखिएको प्रहरीले जनाएको छ ।
माओवादीले पनि शुरुमा राष्ट्रिय सम्मेलन भनिएको र राजनीतिक दलका नेताहरुलाई निम्ता नगरिएको कारण एसपीको कमाण्डमा मात्रै सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो । तर अहिले भने एसपीको दिनेश मैनालीको कमाण्ड भएपनि अनुगमन भने डीआईजी तहबाटै हुने बताइएको छ ।












