सर्वोच्चका १४ न्यायाधीशले भोलि प्रधानन्यायाधीशसँग परामर्श गर्ने

८ कार्तिक, काठमाण्डौ। न्यायपालिकाको गरिमा नै संकटमा परेको भन्दै फुलकोर्ट बहिस्कार गरेर अलग्गै छलफलमा जुटेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक सकिएको छ ।

सर्वोच्च अदालत परिसरमा सोमबार चार घण्टाको छलफलपछि असन्तुष्ट न्यायाधीशहरू मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सामुहिक रुपमा भेटेर आवश्यक परामर्श गर्ने निर्णय गरेको हाे ।

न्यायिक नेतृत्व र न्यायालयमा हुने गरेका विकृतिबारे लामो छलफल गरे पनि ठोस निष्कर्षमा भने नपुगिएको न्यायाधीश हरिकृष्ण कार्कीले बताए ।

‘लामो छलफल भए पनि त्यस्तो कुनै निष्कर्षमा पुगिएको होइन । हाम्रो सामूहिक सरोकारका विषयमा भोलि ‘मंगलबार’ प्रधानन्यायाधीशसँग समय लिएर भेटेर कुरा राख्ने भन्ने कुरा भएको छ’, न्यायाधीश कार्कीले भने ।

कार्कीले ठोस निष्कर्षमा नपुगेको दाबी गरे पनि न्यायाधीशहरू प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा सार्वजसनिक रूपमा विगतका कमिकमजोरीहरू सच्याउने र भविष्यमा कार्यपालिकासँग सोझो सम्बन्ध छैन भनेर विश्वस्त आधार तयार पार्नुपर्ने निष्कर्षमा छन् ।

न्यायाधीशहरूको बैठकका कारण सर्वोच्च अदालतमा सबै मुद्दा प्रभावित भएका छन् । न्यायाधीहरूको बैठक सकिए पनि अघोषित इजलास बहिस्कारलाई भने निरन्तरता दिएका छन् । न्यायालयको आन्तरिक विवादका कारण भोलि ‘मंगलबार’को मुद्दा सुनुवाइसमेत प्रभावित हुने देखिएको छ ।