Ad #144479

१४ असोज, काठमाण्डौ। अहिले बजारमा गुन्द्रुकको भाउ मासुको भन्दा महंगो पर्ने भएको छ । अहिले उपभोक्ताले गुन्द्रुकलाई प्रतिकिलो एक हजार रुपैयाँसम्म तिर्दै आएका छन् । उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु खुद्रा मूल्यमा प्रतिकिलो दुई सय ९० रुपैयाँमा बिक्री भइरहेको छ । कुखुराको मासुभन्दा गुन्द्रुक महंगोमा बिक्री भइरहेको छ ।

पछिल्लो समय साग उत्पादनमा कमि आएको भन्दै बजारमा गुन्द्रक कम मात्रामा पाइने र महंगो पनि हुने गरेको व्यवसायी बताउँछन् । तर, व्यापारीले खुद्रा बजारमा उपभोेक्तासँग मनलाग्दी मूल्यमा गुन्द्रुक बेच्दै आएका छन् । खुद्रा बजारमा एक सय ग्रामको नै एक सय रुपैयाँ लिँदै आएको उपभोक्ता बताउँछन् । यो भनेको प्रतिकिलो एक हजार रुपैयाँ हो ।

पसलैपिच्छे मूल्य फरक हुँदा उपभोक्ता मारमा परेका छन् । दशैँ नजिकिँदै गर्दा मासुको भाउ बढ्न पर्नेमा गुन्द्रुकको भाउ बढेर किनेर खान नसकिएको गुनासो उपत्यकाका उपभोक्ता राम तिवारी बताउँछन् ।

त्यस्तै, अर्का काठमाडौंका खुद्रा तरकारी व्यवसायी हरिदास खड्का भन्छन्, ‘थोकमाभन्दा हामीले केही महंगोमा नै बेच्नु पर्छ ।’ अहिले कृषकले साग उत्पादनमा वृद्धि गर्न नसक्दा गुन्द्रुकको मूल्य बढी पर्न गएको उनको अनुभव छ । नेपालीलाई धेरै नै मनपर्ने, पकाउन पनि छिटो र स्वाद पनि मिठो हुने भएकाले उपभोक्ताले गुन्द्रकलाई भान्सामा धेरै प्रयोग गर्छन् ।

निषेधाज्ञाका कारण होटल, रेष्टुरेन्ट लगायत मासु खपत हुने ठाउँहरु बन्द हुँदा बजारमा मासुको माग ह्वात्तै घटेको छ । तर, गुन्द्रुकको भाउ भने बढेको छ ।