१० असोज, कास्की। विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न देशका राजदूत सहितका अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिहरू पोखरा आएका छन् ।
उनीहरूलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले स्वागत गरे ।
कतार, युएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेविया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा आएका हुन् । त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कूनीतिक नियोगका प्रमुखसमेत पोखरा आएका छन् ।
राजदूतसहितको टोलीको सम्मानमा आज साँझ गण्डकी प्रदेश सरकारतर्फबाट रात्रिभोज आयोजना गरिएको छ । सोमबार कूटनीतिज्ञले पोखरा र आसपासका विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमणका साथै छोटो दुरीको हाइकिङमा सहभागी हुने कार्यक्रम छ ।
सोमबारै पोखराको लेकसाइडमा राखिएको सडक महोत्सवमा उनीहरू सहभागी हुने कार्यक्रम छ ।












