भूमि आयोग विघटनविरूद्ध रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

२५ श्रावण, काठमाण्डौ। भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता प्रवेश केसीको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार सरकारले खारेज गरेको भूमि आयोगबारे निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अदालतले भूमि आयोग विघटन गर्नुपर्ने कारण पेश गर्न पनि आदेश दिएको छ । साथसाथै अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाएको छ । सरकारले गत मंगलबार भूमि आयोग विघटन गर्ने निर्णय गरेको थियो।