भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि देशैभर सुरु

२२ श्रावण, काठमाण्डौ। कोरोना भाइरसविरुद्ध चिनियाँ खोप भेरोसेलको डोज लगाउने अभियान आजदेखि देशैभर सुरु भएको छ।भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउने कार्य सुरु भएको हो।

स्थानीय स्वास्थ्य चौकी, विद्यालय र खुल्ला ठाउँमा केन्द्र स्थापना गरेर दोस्रो मात्राको खोप लगाइने छ। काठमाण्डौका सबै पालिकालाई खोप केन्द्र तोकिएको छ।

पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य गरिएको छ। उक्त कार्ड र विद्युतीय दर्ता नम्बर लिएर आफूलाई सजिलो हुने खोप केन्द्रमा पुगेर खोप लगाउन सकिने छ।

असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका नागरिकमा भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार हालसम्म १ लाख ६५ हजार नागरिकले भेरोसेल खोपको पहिलोमात्रा लगाएका छन्।