आगामी पाँच महिनामा करिब दुई लाख नयाँ कोरोना संक्रमित थपिने

२१ श्रावण, काठमाण्डौ। स्वास्थ्य मन्त्रालयले आगामी ५ महिनामा करिब १० हजार कोरोनाका बिरामी गम्भीर हुने प्रक्षेपण गरेको छ।

बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले उक्त तथ्यांक प्रस्तुत गरेका हुन्। मन्त्रालयले गरेको प्रक्षेपण अनुसार साउनबाट बिस्तारै अस्पताल भर्ना हुने तथा गम्भीर हुने संख्या घटेको देखिन्छ।

मसिंरसम्ममा १ लाख ९३ हजार ८ सय ५६ संक्रमित थपिने सम्भावना छ । ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यकता पर्न सक्ने सम्भावना रहेको प्रक्षेपण गरिएको छ।

जसअनुसार साउनमा ५३ हजार ३ सय ७, भदौमा ४५ हजार ७ सय २६, असोजमा ३८ हजार ५ सय ९७, कात्तिकमा ३१ हजार ४४ र मसिंरमा २५ हजार १ सय ८३ संक्रमित थपिने मन्त्रालयले जनाएको छ। त्यसैगरी, ५ महिनामा ९ हजार ६९३ सघन उपचार कक्षको आवश्यकता पर्ने मन्त्रालयको ठहर छ।

साउनमा २ हजार ६६५, भदौंमा २ हजार २८६, असोजमा १ हजार ९३०, कार्तिकमा १ हजार ५५२, मंसिरमा १ हजार २५९ जनालाई सघन उपचार कक्षको आवश्यकता पर्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।