कोरोनाविरुद्धको पूर्ण खोप लगाउने अर्को जिल्ला बन्यो मुस्ताङ

२० श्रावण, मुस्ताङ। मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने जिल्ला बनेको छ । यसअघि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको थियो । स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप दिइएको हो ।

मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २१३ नागरिकलाई पनि खोप दिइएको छ ।यससँगै मुस्ताङमा पूर्ण खोप पाउनेको संख्या ९ हजार ५१३ रहेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ।

जोनसन एण्ड जोनसनको खोप लगाउने ६ हजार ७२१, भेरोसेल खोपको पूर्ण डोज लगाउने ३२० र कोभिशिल्ड खोपको पूर्ण डोज लगाउने २ हजार ४७२ जना छन् ।

मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५२५ जना संक्रमित भएका थिए । जसमध्ये १५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । हाल मुस्ताङमा २३ जना सक्रिय संक्रमित छन् ।