जागेश्वर गौतमसहित ४ जना स्वास्थ्य अधिकारीको सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

१९ श्रावण, काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीले गरेको सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रशासकीय अधिकारी प्रा.डा.जागेश्वर गौतमसहित ४ जना स्वास्थ्य अधिकारीको सरुवा रोक्न देउवाले निर्देशन दिएका हुन् ।

मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनीलाई नियुक्त गरेको थियो ।

त्यस्तै सार्क क्षयरोग केन्द्रका प्रमुख डा. विवेक लाललाई मन्त्रालयको समन्वय शाखामा तानिएको थियो भने ११ महिनादेखि मन्त्रालयमा जगेडामा बस्दै आएकी रिता जोशीलाई डा. लालको ठाउँमा पठाइएको थियो ।

तर राज्यमन्त्रीले गरेको सरुवा तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिइसकेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । अहिले स्वास्थ्य मन्त्रीको नेतृत्व पनि देउवाले नै सम्हाल्दै आएका छन् ।

स्वास्थ्य राज्यमन्त्री नियुक्त हुँदै विवादमा तानिएका श्रेष्ठको सरुवाको निर्णयबाट देउवा असन्तुष्ट बनेको बताइएको छ ।