शुक्लाफाँटामा पाटेबाघको संख्या बढ्दै

१४ श्रावण, कञ्चनपुर। सुरक्षित बासस्थानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या प्रतिवर्ष बढ्दो छ । निकुञ्ज कार्यालयले बासस्थानको संरक्षण, चोरी शिकारी नियन्त्रणलगायतका कार्य निरन्तररूपमा अगाडि बढाउँदै आएपछि पाटे बाघको सङ्ख्या बढ्दै गएको हो ।

सन् २०१८ मा गरिएको गणनाअनुसार निकुञ्जमा १६ पाटे बाघ फेला परेका थिए । त्यसमा भालेको सङ्ख्या नौ, पोथीको सङ्ख्या छ र लिङ्ग खुल्न नसकेको एक रहेको थियो । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणनामा सन् २००९ मा शुक्लाफाँटामा बाघको सङ्ख्या १० थियो । सन् २०१३ मा बढेर १७ पुगेको थियो । गएको पाँच वर्षको अवधिमा आठदेखि १२ को हाराहारीमा रहेको पाटे बाघको सङ्ख्या बढेर १६ पुगेको छ । थोरै क्षेत्रफल भएको सो निकुञ्ज बाघको धेरै घनत्व भएको क्षेत्रका रूपमा समेत रहेको छ ।

निकुञ्ज कार्यालयले गत महिना गरेको अनुगमनमा पाटे बाघको सङ्ख्या अघिल्ला वर्षको तुलनामा सुधारोन्मुख अवस्थामा रहेको पाइएको जनाएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीका अनुसार पाटे बाघको अनुगमनको कार्य पूरा गरी स्वचालित क्यामेराबाट प्राप्त तस्वीर विश्लेषण गर्ने कार्य भइरहेको छ ।

“तस्वीरमा पाटे बाघको सङ्ख्या सन्तोषजनकरूपमा रहेको पाइएको छ”, उहाँले भन्नुभयो, “आहारा प्रजातिको संरक्षणसँगै पाटे बाघको उपस्थिति उत्साहजनक अवस्थमा रहेको पाएका छौँ ।” आहारा प्रजातिको घनत्व निकै राम्रो भएकाले पाटे बाघको बासस्थानसमेत राम्रो अवस्थमा रहेको उहाँले बताउनुभयो । पाटे बाघका आहारा प्रजातिका लागि चरन क्षेत्रमा सुधारसँगै पानीको कमी हुन नदिन निकुञ्जभित्र १४५ बढी कृत्रिम पोखरी निर्माण गरी निरन्तररूपमा पानीको व्यवस्था गरिँदै आएको छ । निकुञ्जमा ५५ बढी साना–ठूला गरी प्राकृतिक ताल रहेका छन् ।

बाघ जोगाउनका लागि निरन्तररूपमा गस्ती, बासस्थान रहेको क्षेत्रको सुरक्षाका लागि एक सातादेखि १० दिनसम्म ठाउँठाउँमा क्याम्पेनिङ गरी निकुञ्ज क्षेत्रमै बस्ने गरी सुरक्षाकर्मीको टोली परिचालन गर्ने, सुराकी परिचालन गर्नेलगायतका कार्य हुँदै आएको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

“निकुञ्जको मध्यवर्ती क्षेत्रमा चोरी शिकारी गर्नेलगायतका व्यक्ति देखापरे त्यसविरुद्ध सुराकी परिचालन गरी सूचना लिने कार्य गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “पाटे बाघलगायत दुर्लभ प्रजातिका जीवजन्तुको चोरी शिकारी हुन नदिनकै लागि सुराकीले दिएको सूचनाअनुसार कारवाहीसमेत अगाडि बढाइँदै आएका छन् ।”

पाटे बाघ निकुञ्जको कोर एरिया, मध्यवर्ती क्षेत्रका वन र चुरे क्षेत्रमा पाइने गरेका छन् । निकुञ्ज नजिकै भारतीय दुधुवा नेशनल पार्क पर्ने भएकाले बाघले सीमा वारपार गर्ने भएकाले पनि कहिले बाघको सङ्ख्यामा थोरैले घटीबढी हुने गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित वन्यजन्तु (अनुसूची १०) मा पाटेबाघ सूचीकृत छ । सन् १९७४ देखि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षण कार्य गरिँदै आएको छ । बाघ गणनाको कार्य भने सन् १९९९ देखि हुँदै आएको छ । निकुञ्जको ३०५ वर्ग किलोमिटर क्षेत्र पाटे बाघको मुख्य बासस्थानका रूपमा रहेको छ । पाटेबाघ विश्वकै सबैभन्दा आकर्षक र सुन्दर जनावरको श्रेणीमा पर्दछ ।

सन् २०१० मा रसियाको सेन्टपिटर्स वर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । नेपालमा पाटे बाघको सङ्ख्या भने हालसम्म २३५ रहेको छ । पाटे बाघ पारिस्थितिकीय प्रणालीमा सबैभन्दा माथिल्लो तहमा पर्ने मांसहारी जनावारका रूपमा छ । विश्वमा पाइने जम्मा नौ बाघका उपप्रजातिमध्ये तीन उपप्रजाति लोप भइसकेका छन् ।

त्यसमध्ये हाल छ उपप्रजाति मात्रै जीवित अवस्थामा छन् । सबै उपप्रजातिको सङ्ख्या तीन हजार २०० भन्दा कम छ । बासस्थानमा समेत दिनप्रतिदिन प्रतिकूल असर पर्दै गएका कारणले गर्दा बाघ सङ्कटमा पर्न थालेको छ । नेपाल–भारतसहितका देशमा पाइने पाटे बाघ तराई तथा भित्री मधेस क्षेत्रलगागतका घना वन क्षेत्रमा पाइने गर्दछ । वन क्षेत्रको संरक्षण सो क्षेत्रका बासिन्दाको जीविकोपाजर्न तथा अस्तित्वसँग जोडिएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भइसकेको बताइन्छ ।

निकुञ्जले पाटेबाघको संरक्षणसँगै आहारा प्रजातिका लागि खानेपानी, चरन क्षेत्रको व्यवस्थापन गरी बासस्थान सुधार गर्ने, पाटेबाघ तथा त्यसको आहारा, प्रजातिको चोरी शिकारी हुन नदिन संरक्षण शिक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पाटे बाघको आहारा प्रजातिबारे अध्ययन र अनुसन्धान गर्नेलगायतका कार्य अगाडि बढाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार पाटे बाघ मार्ने तथा यसका अङ्गको चोरी शिकारीमा संलग्न व्यक्तिलाई १५ वर्ष कैद र रु १० लाखसम्म जरिवाना गर्ने कानूनी व्यवस्थासमेत गरेको छ ।