१३ असार, काठमाण्डौ। उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ ।
बैशाख १६ देखि उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने र नगर्ने बारेमा सोमबार बस्ने बैठकले तय गर्ने भएको हो । आइतबार दिउँसो उपत्यकाका तीनै जिल्ला प्रमुख अधिकारीबीच बसेको बैठकले अहिलेसम्मको कोरोना संक्रमणबारे छलफल भएको र भोलि सोमबार बस्ने बैठकले निषेधाज्ञा थप गर्ने र नगर्नेबारे तय गर्ने बताइएको छ ।
उपत्यकामा निजी सवारीजस्तै जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउने तयारीबारे पनि छलफल भएको छ । भोलि बस्ने बैठकले संक्रमण दरको अवस्था हेरेर यसबारे विश्लेषण गर्ने बताइएको छ ।
साथै, यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुने भएकाले र एकैपटक यातायात खुलाउँदा अवस्था फेरी पूरानै हुने सम्भावना हुन्छ ।
सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवसायीले माग गरिरहेका छन् । यस विषयमा आइतबारको बैठकमा छलफल भएको छ । गएको वैशाख १६ देखि जारी निषेध आदेश खुकुलो बनाउँदै अहिले जोरबिजोर नम्बरका आधारमा निजी सवारीसाधन र ट्याक्सी चलाउन दिइएको छ।









