१३ असार, काठमाण्डौ। प्रतिनिधिसभा विघटन मुद्दामा आइतबार चौंथो दिन सुनुवाई हुँदैछ । संवैधानिक इजलासले निवेदकतर्फका कानुन व्यवसायीका लागि बहस गर्न तोकेको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बाँकी छ ।
निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि भने थप ३ घण्टा समय पाउनेछन् । निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् । सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।
शुक्रवार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा।दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।
प्रधानमन्त्री केपी ओली स्वयम् र विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभा विघटन भएको यो दोस्रो पटक हो ।









