Ad #144479

२९ जेष्ठ, काठमाण्डौ। ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे शाहीको टिममाथि आक्रमण भएको हो ।

सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झडप हुँदा शाहीका टिमका केही घाइते भएका छन् । घाइते भएकाहरुको अवस्था अहिले सामान्य रहेको छ । प्रहरीले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

शाहीले आफ्नै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको एक भिडियोमा शाहीले रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ ।टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।

शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

कोरोना भाइरसको महामारीमा सरकारले जारी गरेको निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।