२२ जेष्ठ, काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो।
मूल्यबृद्धिपछि काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।
निषेधाज्ञाकै बीचमा गत जेष्ठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो । भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ ।
यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।
‘निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने देखिन्छ,’ उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ।













