आज चिनियाँ खोप लिएर काठमाण्डौ आउँदै नेपाल एयरलाइन्सको चार्टर विमान

१८ जेष्ठ, काठमाण्डौ। नेपाल एयरलाइन्सको चार्टर विमान मंगलबार चिनियाँ खोप लिएर काठमाण्डौ आउँदैछ । चीनले अनुदानमा दिएको खोप लिएर आज चार्टर विमान काठमाडौं आइपुग्ने भएको हो ।

नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले दिएको जानकारी अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मंगलबार काठमाण्डौ आइपुग्ने छ ।

महाप्रबन्धक पौडेलका अनुसार यो चार्टर उडानबाट करिब ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ । सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर काठमाण्डौ फर्किने छ ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।