राष्ट्रियसभा उप निर्वाचनको मतदान सकियो

१७ जेष्ठ, बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा २ सय ९७ जनाले मत हालेका छन्। सोमबार भएको मतदान ३ सय मतदातामध्ये तीन जना अनुपस्थित भएका हुन्।

बिहान ९ बजेदेखि सुरु भएको मतदानमा २९७ मत खसेको हो । जम्मा तीन सय मतदातामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल म्शेर जबराले चुनाव बहिष्कार गरेका थिए भने अन्य दुई जना मतदाता बिरामी भएर काठमाण्डौमा रहेकाले मतदान गर्न नआएको जनाइएको छ ।

प्रदेश सभा सदस्य ८३ जनाले नै मतदान गरेका छन । पालिकातर्फको तीन मत नखसेको हो । ३ बजेसम्म मतदानको समय राखिएको थियो ।कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । त्यसपछि रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेसका दीर्घनारायण पाण्डेय उम्मेदवार बनेका छन् ।

निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको थियो । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको थियो ।