उपत्यकामा थप एक साता निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने

११ जेष्ठ, काठमाण्डौ । कोरोना भाइरस संक्रमणको दर नघटेपछि उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । आज तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपेको हो ।

थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले जनाएको छ । अबको एक साता अझ कडाईका साथ पालना भयो भने उपत्यकामा संक्रमणको फैलावट नियन्त्रण उन्मुख हुने बताइएको छ ।

दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले १६ देखि २२ वैशाखसम्म पहिलो पटक निषेधाज्ञा लगाएको थियो । त्यसपछि २२ देखि २९ वैशाख र २९ देखि १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो ।