सीसीएमसीको प्रमुखमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त

११ जेष्ठ, काठमाण्डौ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवसरहको उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

शुक्रबार राजपत्रमा प्रकाशित भएको ‘कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’अनुसार शर्मा सीसीएमसीमा नयाँ सदस्यका रुपमा नियुक्त भएका हुन्। यसअघि सीसीएमसीको प्रमुख प्रधानमन्त्री कार्यालयका सचिव थिए।

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा निर्देशक समिति छ। जसको प्रमुख यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेका थिए। निर्देशक समितीमा उपप्रधानमन्त्रीसहित, स्वास्थ्य, गृह, अर्थ, उद्योग, परराष्ट्रमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र सीसीएमसीको प्रमुख सदस्य सचिव हुने व्यवस्था गरिएको छ।

यस्तै सोमबारको मन्त्रीपरिषद बैठकले सप्तरी, सर्लाही, बागमती, सुदूरपश्चिम प्रदेश सहित १० वटा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय पनि गरेको छ।