९ जेष्ठ, काठमाण्डौ। विराटनगरमा कोरोना भाइरस नियन्त्रणमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । संक्रमण नियन्त्रणका लागि लगाएको निषेधाज्ञा कार्यान्वयनमा खटिएको प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा गएको टोलीमाथि विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकमा शनिबार साँझ ७ बजेतिर आक्रमण भएको हो ।
मोरङ प्रहरीका अनुसार डीएसपी राई नेतृत्वको टोली भीडभाड नियन्त्रण गर्दै र निषेधाज्ञा उल्लंघन गरेर कुदाइका सवारी साधनमाथि निगरानी बढाउँदै तथा खुला रहेका पसलहरु बन्द गराउँदै पुष्पलाल चोक पुगेको थियो । त्यस क्रममा पसल खुला राखेर तरकारी बेचिरहेको समूहले प्रहरी टोलीमाथि एक्कासि आक्रमण गरेको बताइएको छ ।
आक्रमणबाट डीएसपी राईसहित चारजना प्रहरीलाई चोटपटक लागेको छ । राईको पाखुरा र शरीरका केही भागमा बाँसले प्रहार गरिएको चोट छ । प्रहरीमाथि आक्रमण हुन थालेपछि पुष्पलाल चोकको अवस्था केहीबेर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट थप मद्धतका लागि गएको प्रहरी टोलीले आक्रमणमा संलग्नमध्ये पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर–१ की ४० वर्षीया आशा साह, १८ वर्षीया मेनुका साह, २२ वर्षीया अञ्जना साह, १९ वर्षीया उषा साह र अजय साह रहेका छन् । पाँच जनालाई नियन्त्रणमा लिनसाथ अरु फरार भएका थिए ।











