कपिलवस्तुमा माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार

६ जेष्ठ, काठमाण्डौ। कपिलवस्तुमा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ ।

जिल्लाको तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ।

प्रहरीका अनुसार कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाण्डेको अवस्था मध्यम रहेको छ ।

निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।

पाण्डे तौलिहवाका बासिन्दा हुन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन।