कोभिड-१९ को तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञको अनुमान

४ जेष्ठ, काठमाण्डौ। जनस्वास्थ्य विज्ञहरुले कोभिड-१९ को तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने बताएका छन् । कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका हुन । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण छ ।

कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छाले छिमेकी मुलुक भारतलगायत विश्वभरकै तथ्यांक हेर्दा अक्टोबर/नोभेम्बरमा कोभिडको तेस्रो लहर आउने निश्चितप्रायः रहेको बताए । ‘पहिलो लहरमा बूढापाका र दोस्रो लहरमा युवा बढी प्रभावित भएजस्तै तेस्रो लहरले बालबालिका बढी जोखिममा पर्ने अनुमान छ,’ उनले भने ।

कोभिडको पहिलो लहरमा संक्रमितमध्ये बालबालिका २ प्रतिशतभन्दा कम थिए । हालको दोस्रो लहरमा कुल संक्रमितमा बालबालिकाको हिस्सा करिब १० प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले समेत कोभिडको तेस्रो लहर आउन सक्ने र यसले बालबालिकालगायत खोप नलगाएकाहरू बढी जोखिममा पर्न सक्ने बताए ।

दोस्रो लहर कम भएर सामान्यतर्फ जान थालेपछि स्कुल खुल्ने भएकाले संक्रमणको समस्या निम्तिने उनको भनाइ छ । ‘राजनीतिक, सामाजिक र आर्थिकलगायत सबै क्षेत्रले संयम तोडेर

दोस्रो लहर ल्याउन सघाए,’ डा. अधिकारीले भने, ‘तेस्रो लहर चाँडै फैलिन्छ, अत्यन्त जोखिमपूर्ण स्थिति आउन सक्छ ।’ बालबालिकाका लागि खोपसमेत नभएकाले स्वास्थ्यमा जनशक्तिलगायत पूर्वाधार व्यवस्था तत्काल गर्नुपर्नेमा सह प्रवक्ता अधिकारीले बताएको छन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ।