२८ वैशाख, काठमाण्डौ। कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाण्डौ उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने भएको छ । मंगलबार काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो ।
काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले आजको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार पहिला बिहान ९ बजेसम्म मात्रै पसल खुलाउन पाउनेमा अब बिहान १० बजेसम्म पसल खुलाउने पाइनेछ ।
उपत्यकाभित्र अत्यावश्यकबाहेकका सम्पूर्ण कार्यालय बन्द गर्ने र नीजि निर्माणका सामाग्री लिन प्रयोग गर्ने सवारी साधन पनि चलाउन नपाइने प्रमुख पराजुलीले बताए ।
कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि वैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी छ ।









