१८ वैशाख, एजेन्सी। नेपालमा २० देखि ४० वर्षको उमेर समूहका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको दर उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो तथ्याङ्कलाई हेर्द पछिल्लो समय ३० देखि ५० वर्षको उमेर समूहका व्यक्तिले कोरोनाभाइरसका कारण ज्यान गुमाउने संख्या पनि बढ्ने क्रममा रहेको देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको गत वर्ष चैत १ गतेदेखि यो वर्ष वैशाख १६ गतेसम्म उमेर समूह अनुसारको सङ्क्रमण र मृत्युको तथ्याङ्कमा यस्तो देखिएको हो। यो डेढ महिनाको अवधिमा सबैभन्दा बढी सङ्क्रमण २० देखि ३९ वर्षका व्यक्तिहरूमा पुष्टि भएको पाइएको छ। २० देखि २९ वर्षको उमेर समूहका व्यक्तिहरूमध्ये १० हजार ४ सय ५८ जना र ३० देखि ३९ वर्षको समूहका १० हजार २ सय ८७ जनालाई सङ्क्रमण देखिएको छ।
यसै गरी अवधिमा कोरोनाभाइरसका कारण नेपालमा ३० देखि ३९ वर्ष उमेर समूहका २० जना र ४० वर्षदेखि ४९ वर्ष उमेर समूहका ४४ जनाको मृत्यु भएको ज छ। स्वास्थ्य मन्त्रालयको आँकडाका अनुसार चैत्र १ गतेदेखि वैशाख १६ गतेसम्म कोरोनाभाइरसका कारण ज्यान गुमाउने सबैभन्दा बढी व्यक्तिहरू ५० वर्षदेखि माथिका छन्।
त्यसमा ५० देखि ५९ वर्षका ५० जना, ६० देखि ६९ वर्षका ४७ जना र ७० वर्ष वा सो भन्दा माथिका ६३ जना रहेको उल्लेख छ। यस्तै कोभिड १९ का कारण १० देखि १९ वर्षको उमेर समूहका २ जना र २० देखि २९ वर्ष उमेर समूहका ५ जनाको ज्यान गएको देखाएको छ।












