११ वैशाख, काठमाण्डौ। पुनर्निर्मित धरहराको आज शनिबार उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारास्थित धरहरा परिषरमा हुने विशेष कार्यक्रमका बिच २२ तले धरहराको उद्घाटन गर्ने तय भएको हो ।
उद्घाटनका लागि तयारी पूरा भएको र मुल धरहरा निर्माणको काम पनि लगभग सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहराको टुप्पो गएको आइतबार गजूर राखिएको थियो भने त्यसपछि रङरोगनको काम पनि भएको छ ।
करिब तीन अर्ब ४८ करोडको लागतमा निर्माण भइरहेको धरहराको पूरा क्षेत्र ४२.२ रोपनीमा फैलिएको छ। तर सुन्धाराको बिस्तारित क्षेत्रमा समेटिने वरपरको बगैँचासहितको भाग भने बिस्तारै निर्माण हुँदै जाने जनाइएको छ।
विसं १८८१ मा तत्कालीन प्रधानमन्त्री भीमशेन थापाले बनाएको ११ तले धरहरा १९९० को भूकम्पले ढलेको थियो। त्यसपछि विसं १९९२ मा ९ तला रहने गरि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पुनर्निर्माण गरेका थिए।
पुनर्निर्मित धरहरामा जडानका लागि चुना र सुर्कीको सट्टा सिमेन्ट तथा फलामे डन्डी प्रयोग गरिएको छ । यो धरहराको बिहान ११ बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने छन् । तर सर्वसाधारणका लागि खुला हुन भने अझै केही महिना लाग्ने प्राधिकरणले जनाएको छ ।









