शसिन्द्र गौतम
चैत्र ३, नेपालगञ्ज । देशमा बढ्दो बलात्कारविरुद्ध झापाका दुई जना युवाहरु मेची–महाकाली यात्रामा निस्किएका छन् ।
झापाका अभिषेक धमाला र आकाश क्षेत्रीले झापादेखि महाकालीसम्मको यात्रा सुरु गरेका हुन् । ‘बलात्कारमुक्त समाजको परिकल्पना:शान्ति, सुशासन, समृद्ध नेपाल हाम्रो चाहना’ भन्ने मूल नाराका साथ यात्रा सुरु गरिएको बर्दियामा भेटिएका धमालाले बताएका हुन् ।

फागुन २० गते झापादेखि साइकल यात्रा सुरु गरेका उनीहरु चैत ४ गते कैलाली पुगेका छन् । उनीहरु अब आफ्नो यात्रा पुरा गर्न मात्रै डेढ सय किलोमीटर टाढा छन् ।
धमालालाई साइकल यात्राका लागि जेसिस झापाले साइकल उपलब्ध गराएको हो । यस्तै झापा जेसिसले नै हरेक दिन बेलूकी खाना र बस्ने व्यवस्था पनि गरेको छ ।

दुई जना साइकल यात्रीमध्ये धमाला थियटर कलाकार र लेखक पनि हुन् । उनी क्षितिज नाट्य समूहमा आबद्ध छन् । यस्तै क्षेत्री भने गायक तथा संगीतकार हुन् । झापाको बारादशी गाउँपालिकाका दुवै जना कञ्चनपुरको महाकाली पुगेपछि गाडीमा झापा फर्किने छन् ।













