Ad #144479

समिता श्रेष्ठ

असाेज २५, भक्तपुरकी गणेशमाया प्रजापति उमेरले १ सय १ वर्ष पुग्नुभयाे । ६० वर्ष माथीका बृद्धबृद्धालाई कोरोना भाइरसको जाेखिम उच्च हुन्छ भनिएको छ। तर गणेशमायाले अस्पताल नै नबसी काेराेनालाई जित्नुभएकाे छ ।

भक्तपुर मध्यपुर थिमीकि उहाँले याे उमेरसम्म आईपुग्दा हैजा, विफर जस्ता राेग पनि जित्नुभएकाे हाे ।

परिवार र गणेशमाया :

गणेशमाया सहित उहाँको परिवारमा चार जनालाई कोरोना देखिएको हो। छोरा ५४ वर्षका इन्द्र, एक छोरी ६५ वर्षकी पूर्णमाया र नाति ३३ वर्षका सहजलाई संक्रमण भए पनि बुहारी, नातिनी बुहारी र पनातिमा भने देखिएन ।

परिवारमा सबभन्दा पहिले गणेशमायाका नाति सहजलाई कोरोना देखिएको हो। सहजका साथीलाई कोरोना देखिएपछि शंकाका आधारमा उनीहरूले परीक्षण गराए। बहाखास्थित अर्को घरमा सहजलाई क्वारेन्टिनमा राखे। तीन दिनपछि रिपोर्ट शंका गरेअनुसारै पोजेटिभ देखियो।

इन्द्रका अनुसार सहजलाई पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यले पनि परीक्षण गराए। परिवारका तीन जना छाडेर अरूमा कोरोना देखियो।

रिपोर्ट आउने बित्तिकै इन्द्र पनि सहजसँगै अर्को घरमा बस्न थाले ।गणेशमाया र उहाँकी छोरी पूर्णमाया भने घरको माथिल्लो तलामा बसे ।

प्रजापति परिवारमा कोरोना देखिएका इन्द्र, पूर्णमाया र सहज

उनीहरू सबैमा सामान्य रुघाखोकीको समस्या देखिएको थियो। गणेशमायालाई खोकी त पहिले पनि लागिरहेकै हुन्थ्यो। कोरोना बेला उहाँले आफूले पहिले नै सामना गरेको बिफरको पीडा सम्झिनुभयाे । त्यसको तुलनामा यसको असर उहाँलाई सामान्य लाग्याे । उहाँ भन्नुहुन्छ,`पहिलेका महामारीमा परिवारका सदस्यलाई माया र स्याहार गर्न पाइन्थ्यो। कोरोनामा त्यो परको कुरा, नजिक आउन पनि मिल्दैन। त्यसैले नरमाइलो लाग्याे ।´गणेशमाया र पूर्णमायाको स्याहार इन्द्रकी श्रीमतीले गर्नुभयाे ।

चैत लकडाउनयता गणेशमाया ४/५ पटक मात्र घरबाहिर निस्किनुभएकाे थियाे । तर आइसोलेनसनमा बस्दा अरू छोरी पनि घरको तलसम्म आमा भेट्न आउँथे, उहाँको नजिक भने पर्थेनन्। उता अर्को घरमा इन्द्र र सहजको रेखदेख गर्न सहजकी श्रीमती हुनुहुन्थ्यो। त्यहाँ एउटा टेबलमा ल्याएर खाना राखिन्थ्यो। खाना खाएर थाल पखालेर घोप्ट्याउँने गरिन्थ्याे।

छिमेकीको सहयाेग :

कोरोनादेखि आ आफ्नो परिवार नै डराउने बेलामा छिमेकीहरू नडराउने कुरै भएन। इन्द्रको परिवारले सुरूवातमै सबैलाई आफूमा कोरोना भएको जानकारी दिएका थिए।

चाहिने सामान छिमेकीले आफ्नै पैसा राखेर ल्याइदिन्थे। पैसाबाट पनि कोरोना सर्ने भएकाले त्यसको हिसाब राखिराख्नु भनेर इन्द्रले भन्नुभएको थियाे। पछि कोरोनामुक्त भएपछि तिर्नुभयाे । यसरी १७ दिन आइसोलेसन बिते। त्यसपछि जाँच गराउँदा पूर्णमाया बाहेक सबैको कोरोना नेगेटिभ देखियो पूर्णमायालाई थप चार दिन आइसोलेसन राखेर जाँच गराएपछि पूरै परिवार कोरोनामुक्त भयो ।

प्रजापति परिवारले कोरोना आएयता भिटामिन सी, पोसिलो खानेकुरा, तातो पानी नियमित खाइरहेका छन्। दैनिक पानीको वाफ ५४ लिइरहेका छन्। १०१ वर्ष उमेरमा कोरोनालाई जितेकी र लामो यात्रा पार गरेकी गणेशमाया थिमीकी रैथाने हुनुहुन्छ ।

काेराेना जितिन्छ :

कोरोनाको महामारी दिनानुदिन बढिरहेको छ ।अझ काठमाडौं उपत्यकामा भयावह अवस्था छ ।यो रोग जसलाई पनि जतिबेला पनि लाग्नसक्छ । तर आत्मबिश्वासी भएर यो रोग सँग लडेमा निको पनि हुन्छ भन्ने उदाहरण मध्यपुर ठिमी निवासी १०१ बर्षिया गणेशमाया प्रजापतिको परिवारले दिएको छ । त्यसमाथी संक्रमित भए छिमेकीकाे सहयाेग र व्यवहार सकारात्मक हुनु महत्त्वपूर्ण छ ।

`सामाजिक दुरिको नियमलाई पालना गर्दै आत्मियता र सहयोगी भावना आफ्ना छरछिमेकले देखाएको इन्द्र बताउनुहुन्छ। यो रोग जितेर आएकाले छोरा इन्द्र भन्नुहुन्छ ‘नियम पालना गर्‍यो भने काेराेना जितिन्छ, राेग लागेपछि डराउने भन्दा आत्मविश्वास बढाउनुपर्छ।´

अन्त्यमा उहाँको भनाई छ, लक्षण देख्दा सामान्य रूघाखोकी मात्र हो भनेर बस्नु हुँदैन । तर काेराेना लागेकै भएपनि कुनै पनि व्यक्तिलाई छिछि र दुरदुर गर्नु हुँदैन । सबैकाे साथ र सहयाेगकाे खाँचाे छ ।´