लकडाउनमा स्याङबोले थालेको पेशा : दैनिक खर्च २ हजार, आम्दानी ६÷७ हजार

अनिता धिताल

कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा र लकडाउनको कारण धेरै उधोग व्यवसायीहरु आर्थिक रुपले सङकटमा परेका छन् । व्यवसायीले घर भाडा तिर्न सकेका छैनन् । त्यस्तै कर्मचारीलाई तलबदेखि बैंकको ब्याज कसरी तिर्ने चिन्ता छ । कामकाज बन्द भयो, व्यापार व्यवसाय ठप्प भएका छन् । धेरैको रोजीरोटी गुमेको छ । आयआर्जनका बाटा बन्द भएका छन् । तर यो बेला सबिता स्याङबोलाई भने कुनै चिन्ता भएन ।

लकडाउन अवसर : नयाँ काम थालनी

लकडाउनलाई समेत अवसरका रुपमा लिएर सबिता स्याङबोले सिन्धुपाल्चोक, थाम्पाल्कोट वडा नम्बर ४ मा बेकरी खोल्नुभएको छ । थोरै लगानीमा सुरु भएको व्यवसाय संकटमा पनि राम्रै चल्यो । साथै अरु महिलाहरुको लागि पनि उहाँ प्रेरणाको पात्र बन्नु भएको छ ।

उहाँका श्रीमान् विकास तामाङले थाम्पाल्कोटमा ग्रिल उधोग चलाउनुहुन्थ्यो । उहाँले लकडाउन हुनु अघि ग्रिल उधोग बेच्नुभएको थियो । लकडाउनले गर्दा घरमा बस्दा बस्दा तनाव भयो । श्रीमानको पनि काम नभएको र घर व्यवहार चलाउन समेत कठिन भएपछि स्याङबोलाई चिन्ता लाग्न थाल्यो । लकडाउन थपिदै गएपछि, अब केहि गर्नैपर्छ भन्ने स्याङ्बोलाई लाग्यो । त्यसपछि उहाँले आफ्नै ठाउँमा बसेर गर्न सकिने कामको उपाय खोज्नुभयो ।

तालिमपछि बेकरीको काम

भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय । स्याङ्बोले पनि उपाय खोज्नुभयो । उहाँ लघु उधमी संस्थाको सदस्य बन्नुभएको थियो । लघु संस्थाले नयाँ व्यवसाय गर्न चाहनेलाई साथ सहयोग गछौ भनेपछि उहाँले बेकरी व्यवसाय सञ्चालन गर्ने सोंच बनाउनुभयो । त्यस ठाउँमा बेकरी पसलको अभाव थियो ।

र श्रीमानको पनि अहिले केहि काम नभएकाले दुवै मिलेर काम गर्न सकिने देखिएकोले यो व्यवसाय गर्दा राम्रो हुन्छ भन्ने सोंच आएपछि उहाँले बेकरी व्यवसाय सञ्चालन गर्नु भएको थियो । स्याङ्बोले काठमाण्डौमा आएर १ महिना बेकरीको तालिम लिनुभयो । स्याङ्बोले बैशाख २७ गतेदेखि बेकारी व्यवसाय सुरु गर्नुभयो ।

सुरुको लगानी साढे २ लाख

बेकरी व्यवसाय सञ्चालन गर्न सुरुमा साढे २ लाख खर्च लागेको थियो । उहाँलाई यस व्यवसायमा सञ्चालन गर्न श्रीमानको सहयोग मिलेको छ । स्याङ्बोले १ महिला बेकरी सम्बन्धि तालिम लिनु भएकाले बेकरीका परिकार बनाउन सहज भएको छ । पहिलो पटक त्यो पनि लकडाउनको बेलामा कसरी बिक्रि बितरण गर्ने भनेर अर्को समस्या आइलाग्यो तर यो समस्या केही दिन मात्र रह्यो ।

त्यहा लकडाउन भएतापनि मनिसहरुको आवातजावात भइरहने भएकाले व्यापार राम्रै हुन थाल्यो । उहाँले बेकरीमा केक, बिस्कुट, पाउरोटी, डुनोट जस्ता बेकरीमा बन्ने सम्पुर्ण परिकारहरु बनाउदै आउनुभएको छ । स्याङ्बोले आफनै ठाउमा व्यवसाय सुरु गरेको थाहा पाएपछि सुरुमा चिनजानमै रहेकाले परिकारहरु मगाउन थाले ।

अहिले त दिनहुँ जस्तो वरीपरीकाले र कसैको बर्थ डे आउदा फोन गरेर केक मगाउन थालेका स्याङ्बोले बताउनुभयो । अहिले महामारीको बेला उहाँको श्रीमानले अर्डर अनुसार बाइकबाट नै सेवा सुविधा दिरहनुभएको छ । स्याङ्बोले अहिलेको अवस्थामा सेनिटाइजर, माक्स र सामाजिक दुरी कायम गरी सेवा दिर्दै आउनुभएको छ ।

दैनिक खर्च २ हजार : आम्दानी ६÷७ हजार

बेकरीमा दैनिक खर्च २ हजार हुने गरेको छ । तर ६ देखि ७ हजार रुपैयाँसम्म कमाई हुन थालेको स्याङ्बोले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘समाजका मानिसहरुले पनि राम्रो प्रतिक्रिया दिइरहनुभएको छ ।’ पहिला कसैको बर्थ डे आउँदा केक लिन मेलम्चीसम्म जानुपथ्र्यो । अहिले आफ्नै ठाउँमा यो व्यवसाय सञ्चालन गरेकाले ताजा परिकार खान पाएको भन्दै अरुले सुनाउने गरेका छन् ।

तर लकडाउन र निषेधाज्ञाका बेलामा बेकरीको समान खरिद गर्न निकै गाह्रो भयो । सामानहरु लिन मेलम्ची र काठमाडौ जानपर्ने भएकाले गाह्रो भएको स्याङ्बो बताउनुहुन्छ । अहिले कोरोना जोखिम भएकाले व्यापार खासै नभए पनि पछि राम्रो व्यापार हुने आश रहेको स्याङ्बोले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ,‘व्यवसाय भर्खर सुरु गरेकी छु, यसलाई अब व्यवस्थित रुपले निरन्तरता दिने सोचमा छु ।’

उदाहरणीय पात्र

लकडाउनका बेला बैकल्पिक योजना बनाएर काम गरेको उहाँ एउटा उदाहरणीय पात्र मात्रै हो । अहिलेको अवस्थामा कोहि गाउँमा गएर खेतिमा व्यस्त भएका छन् । कतिपयले तरकारी, फलफुल बच्ने काम पनि गरेका छन् । काम गर्ने सिप र आँट भएकाहरुलाई जस्तो सुकै महामारीले पनि आम्दानी गर्न रोक्दैन भन्ने उहाँ उदाहरणीय पात्र हुनुहुन्छ ।

सिप र क्षमता छ भने जस्तो अवस्थामा पनि काम गर्न सकिन्छ र कोही पनि बेरोजगार बस्नु पर्दैन भन्ने सबिता स्याङ्बोको काम र जाँगरले अरुलाई पनि सिकाएको छ ।

[sidebar name="button post"]