हामी महिला अधिकारको कुरा गरि रहँदा महिलाबाट महिला नै हेपिएको, उत्पीडनमा परेको घटना छ

अजय खत्री

सिन्धुपाल्चोक । नेपालमा ७ सय ५३ वटा पालिका छन् । तीमध्ये सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका पनि एउटा हो । पाँचपोखरी थाङपाल गाउँपालिकामा झण्डै २१ हजार जनसंख्या छ भने ८ वटा वडा छन् । तीमध्ये वडा ६ का सदस्य हुनुहुन्छ सावित्री खड्का ।

२०७४ सालको चुनावमा महिला वडासदस्यमा निर्वाचित उहाँ वडाबासीका समस्या, विकास निर्माण र विभिन्न काममा सक्रिय हुनुहन्छ । नेतृत्व र निर्णायक तहमा महिला सहभागिता बढेसँगै महिला सक्षम बन्दै गएको उहाँको अनुभव छ ।

महिला सहभागिता

राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसंख्यामध्ये महिलाको जनसंख्या ५१ प्रतिशत भन्दा धेरै छ । अर्थात् २ करोड ६४ लाख जनसंख्यामा महिला १ करोड ३६ लाख बढी छन् । त्यस्तै महिलाको साक्षरता दर झण्डै ५८ प्रतिशत छ । २०७४ सालमा संघ, प्रदेश र पालिकामा निर्वाचन भयो ।

संसदमा ३३ दशमलव ५३, प्रदेश सभा निर्वाचनमा ३४ दशमलव ३६ र पालिकामा ४० दशमलव ९६ प्रतिशत महिला प्रतिनिधि निर्वाचित भएका छन् । समग्रमा तीन तहमा महिला प्रतिनिधित्व भने ३६ दशमलव २८ प्रतिशत छ । अरु सरकारी निकायमा पनि महिलाको संख्या बढ्दो छ ।

संविधानको सुन्दर पक्ष

संविधानमै कम्तिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएपछि निर्णायक तहमा महिलालले सहभागिता जनाउन पाएका वडासदस्य खड्का बताउनुहुन्छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा जस्तै देशका हरु ७ सय ५३ वटै पालिका, दुर्गम क्षेत्र तथा सदनमा समेत महिला प्रतिनिधित्व हुन थालेपछि महिला सक्षम छन् भन्ने प्रस्ट भएको उहाँको भनाई छ ।

‘महिला नेतृत्वले आफ्नो क्षमता विकाश गर्नुका साथै महिला अधिकार र समाज विकासका पक्षमा पनि अवधारणा प्रस्तुत गर्न पाएका छन्,‘उहाँ भन्नुहुन्छ‘यसलाई नै नयाँ सविधानको सुन्दर पक्षका रुपमा लिनुपर्छ ।’

वडासदस्यका रुपमा जिम्मेवारी

संविधानले प्रदान गरेको अवसरका कारण खड्का गएको स्थानिय तहको चुनावमा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ६ थाङपालधापमा महिला वडा सदस्य बन्न सफल हुनुभयो । वडा सदस्य सावित्री खड्का वडाका बैठकहरुमा सुरुवाती दिनमा अलि असहज अनुभव गर्ने गरेको सुनाउनुहुन्छ । तर अहिले त्यस्तो असहज छैन ।

महिलाका समस्या, अधिकार र समाजको आधारभुत आवश्यकताको पक्षमा आफ्नो धारणा राख्दा सुनुवाइ हुन थालेको उहाँ बताउनुहुन्छ । उहाँ अहिले भन्नुहुन्छ,‘महिलालाई नेतृत्व नदिने र अवसरमा बञ्चित गर्दा समाजको हरेक क्षेत्रमापछि परेको रहेछ । महिलाको कुरा केन्द्रिय तहमा सुनुवाइ नभएको धेरै गुनासो सुन्ने गरेको छु तर स्थानिय सरकारको हकमा यो कुरा लागु हँुदैन ।

हामीले राख्ने हरेक सकारात्मक कुराको सुनुवाइ भएको छ र महिलाहरु स्थानिय सरकार संचालन गर्न समेत सक्षम छन् । अवसर र चेतनाको कमिले हामी पछि परेका रहेछौ । अब त्यो अवस्था छैन हामी सक्षम छौँ ।’

महिलाबाटै महिला उत्पीडन

धेरै समस्यामा पुरुष दोषी हुने गरेको पाइन्छ । महिला गौण हुन्छन् । तर वडामा आउने कतिपय समस्या महिलाबाटै सिर्जना भएका देखिन्छ । महिलाबाट महिला नै उत्पीडनमा परेका गुनासा आउने गरेका छन् । खड्का भन्नुहुन्छ,‘हामी महिला अधिकारको कुरा गरि रहँदा महिलाबाट महिला नै हेपिएको, उत्पीडनमा परेको घटना आउँछन् ।

एउटा महिलाले अर्को महिलालाई पहिला सम्मानको भावले व्यवहार गर्नु आवश्यक देख्छु ।’ श्रीमान्ले जाँडरक्सी खाएर कुटपिट गरेको घटना पनि छन् । अरु पनि हिंसाका घटना छन् । तर थोरै छन् ।

महिला आत्मनिर्भर महत्वपूर्ण

महिलाहरु आत्मनिर्भर बन्नु नै महत्वपूर्ण छ । वडा सदस्य बनेर समाजसेवा गर्दै आएकी उहाँको आफ्नै कृषिफार्म पनि छ । कृषि फार्मबाट परिवारको खर्च धान्नुका साथै आफुलाई आवश्यक खर्चसम्म पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।

‘हामी परनिर्भर हुने गरेकाले पनि अपहेलित हुनु परेको छ । मैले आफु आत्मनिर्भर बन्नुपर्छ भन्ने सोंचले कृषि तालिममा सहभागि भएर सञ्चालन गरेको कृषि फार्मले मेरो परिवारको गर्जो टारेको छ । फुर्सद बस्नु परेको छैन । त्यसैले आफै आत्मनिर्भर बन्न केहि न कहि काम गर्नुपर्यो, त्यसले पनि महिला हिंसामा कमी ल्याउन सहयोग गर्छ ।’

कृषिमै जोडबल गरेर कृषि क्षेत्रमा आउने अनुदान सदुपयोग गर्न आफुले आवाज उठाएको उहाँले बताउनुभयो । महिलाहरुलाई आत्मनिर्भर बन्न तालिम र कृषिमा आधुनिनिकरण गर्न सहयोग गर्ने हो भने महिलाहरु अगाडी बढ्ने तथा स्थानीय स्तरमा नै कृषि उत्पादन खपत गर्न सकिने उहाँको जोड छ ।

बरु कृषि उत्पादनको बजार र स्वस्थकर कृषि उपज खेर जान नदिन पालिकाले आवश्यक रणनिती बनाएर कार्यान्वयन गर्न सक्ने वडासदस्य सावित्री खड्का बताउनुहुन्छ ।

[sidebar name="button post"]